Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

आर्थिक अधिकारविहीन कर्णालीको प्रदेश अस्पताल, नेतृत्वविहीन व्यवस्थापन

वरियतामा पहिलो, तर अवसरबाट वञ्चित हुने डा. थापा सधैँ निमित्त !
प्रदेश अस्पताल निर्देशकका प्रवल दावेदार डा. गणेश थापा र डा. शक्ति सुवेदी ।

शेरबहादुर थापा/सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कर्णाली प्रद्शकै सबैभन्दा बढी सुविधा सम्पन्न अस्पताल हो । यो अस्पतालमा दिनहुँ हजारौँ नागरिक सेवा लिन धाईरहेका छन् । लाखौं नागरिकले वार्षिक रुपमा उपचार लिने यो प्रदेश अस्पताल अहिले आर्थिक अधिकारविहीन निमित्त निर्देशकका भरमा चलिरहेको छ ।

आर्थिक अधिकार विहीन निर्देशकको जिम्मेवारी प्रदेश अस्पताल कालागाउँमा कार्यरत डा. गणेश थापाले सम्हालेका छन् । उनले आर्थिक अधिकार नपाएका कारण अस्पतालले कुनैपनि नयाँ सामाग्री साउन एक गतेदेखि खरिद गर्न पाएको छैन ।

अस्पतालमा आवश्यक पर्ने सामानहरु, औषधी खरिद हुन नसक्दा अस्पतालको सेवा प्रभावित हुने अवस्थामा पुगेको छ भने आर्थिक अधिकार दिने वा नयाँ नियुक्ति दिने विभागिय मन्त्रालय सामाजिक विकास मन्त्रालय भने प्रदे्श अस्पतालको समस्या नदेखेझैँ गर्न थालेको छ ।

अस्पतालका निर्देशक डा. केशरबहादुर ढकाल स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा बढुवा भई साउन १ गते मन्त्रालय गएपछि अस्पताल निर्देशकविहीन बनेको थियो । उनी असार २४ गतेसम्म अस्पतालमा हाजिर थिए ।

अस्पताललाई अति आवश्यक सामग्रीहरू उधारोमा खरिद गरिनुपर्ने अवस्था सिर्जना भइरहेको छ भने कर्मचारीको तलब, करार नवीकरण, सामग्री खरिदलगायतका कार्यमा समस्या भइरहेको छ ।

यो पहिलोपटक मात्र होइन, अस्पताल गत कात्तिकमा पनि निर्देशकविहीन बनेको थियो । तत्कालीन निर्देशक डा. डम्बर खड्का सेवा निवृत्त भएपछि डा. थापालाई नै निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो । पछि, मंसिर २ गते डा. केशर ढकाल नियुक्त भए पनि आठ महिनामै उनी पनि बढुवा भएर अन्यत्र सरुवा भएका थिए ।

यता, प्रदेश अस्पतालमा अब निर्देशक बन्नका लागि एघारौं तहका तीन जना, दशौं तहका तीन जना डाक्टर छन् ।


‘प्रमूख कन्सल्टेन्ट जनरल सर्जन डा. थापा काममा दत्तचित्त भएर लाग्ने, कसैको लप्परछप्परमा नलाग्ने डाक्टर हुन ।’ अस्पताल स्रोत भन्छ, ‘धेरै इमान्दार र कसैको चाप्लुसी नगरेकै कारण उहाँ निर्देशक बन्नबाट वञ्चित गराईनु हुन्छ ।’


ती मध्ये प्रदेश मातहत रहेका डा. सुजन सापकोटा दशौं तहमा कार्यरत रहेका छन् भने वाँकी चारै जना डाक्टरहरु कामकाजका लागि कर्णाली आएका हुन ।
ती मध्ये पनि डा. गणेश थापा एघारौं तहका हुन । उनी विगत १९ वर्ष देखि प्रदेश अस्पताल कालागाउँमा कार्यरत रहेका छन् । राजनीति प्रति खासै रुचि नराख्ने कर्णाली वाहिरका डाक्टर भएकै कारण उनि बारम्बार निमित्त निर्देशक बन्ने तर अस्पतालको निर्देशक बन्ने अवसरबाट वञ्चित भइरहेका छन् ।

कर्णालीमा काम गर्न नचाहने, कर्णाली भनेर सरुवा हुँदा नाक खुम्च्याउने, आफू कारवाहीमा परेर आएको ठान्ने प्रवृत्ति हावी भएको समयमा कर्णालीमा १९ वर्षदेखि काम गर्दै आइरहेका डा. थापा अहिले प्रदेश अस्पतालमा कार्यरत सबैभन्दा वरियतामा पहिलो नम्बरमा छन् ।

उसो त, यसअघि पनि प्रदेश अस्पतालमा केन्द्रबाटै कामकाजका लागि खटिएका डाक्टरहरु नै निर्देशक बन्दै आइरहेका थिए ।

‘प्रमूख कन्सल्टेन्ट जनरल सर्जन डा. थापा काममा दत्तचित्त भएर लाग्ने, कसैको लप्परछप्परमा नलाग्ने डाक्टर हुन ।’ अस्पताल स्रोत भन्छ, ‘धेरै इमान्दार र कसैको चाप्लुसी नगरेकै कारण उहाँ निर्देशक बन्नबाट वञ्चित गराईनु हुन्छ ।’

प्रदेश अस्पतालमा एघारौं तहमा आँखा रोग विशेषज्ञ डाक्टरको रुपमा शक्ति सुवेदी कार्यरत छन् । उनि हाल प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रप्रमूखको रुपमा दुई वर्ष देखि कर्णालीमा कार्यरत रहेका छन् । उनि पनि प्रदेश अस्पताल कालागाउँको निर्देशक बन्न योग्य छन् ।

यस्तै, दुई वर्ष बढी समयदेखि एनेस्थेसिया विशेषज्ञ डा. पूजन बल्ल पनि प्रदेश अस्पतालमा कार्यरत छन् । उनि पनि एघारौं तहकै हुन ।

तर, प्रदेश अस्पतालको निर्देशकको रुपमा भने डा. गणेश थापा र शक्ति सुवेदी मध्ये एक जना हुने प्रबल सम्भावना भएको स्रोतको दाबी छ ।

लामो समय स्वास्थ्य सेवा निर्देशकको रुपमा कार्यरत डा. रविन खड्का दशौं तहका डाक्टरमध्ये सबैभन्दा बरिष्ठ हुन । उनि कर्णालीमा विगत सात वर्ष देखि कार्यरत रहेका छन् भने दशौं तहमै हाडजोर्नी विशेषज्ञ डा. विकास केसि दुई पटक गरेर झण्डै पाँच वर्ष कर्णालीमा विताई सकेका छन् ।

यस्तै, मेहलकुना अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टका रुपमा कार्य गरिरहेका डा. सुजन सापकोटा अहिले प्रदेश अस्पताल आएका छन् । उनी यहाँ आएको एक वर्ष पुग्न लागेको छ ।

यता, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अबको दुई तीन दिन भित्र एघारौं तहबाटै निर्देशक नियुत्ति हुने बताए ।

‘विगतमा केहिदिन मन्त्रालयमा सचिव थिएनन । सचिव आएको दुई तीन दिन भएको छ । यो समयमा मन्त्रालयको समिक्षा लगायतका कामहरु सम्पन्न भएका छन् ।’ मन्त्री भण्डारीले भने, ‘अब मन्त्रालयले निर्देशक नियुक्तिको लागि फाईल मन्त्रीपरिषदमा लैजान्छ । मन्त्री परिषदले दुई तीन दिनमै नयाँ निर्देशक तोक्छ ।’

उनले निर्देशक तोक्न ढिलाई हुनुमा अन्य कूनै कारण नभएको प्रष्टोक्ति दिए ।


सम्बन्धित समाचार