Loading... आजः १ कार्तिक २०८२, शनिबार

आज प्रदेश स्थापना तथा सहिद दिवस मनाईदै

मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीले दिए शुभकामना

सुर्खेत । साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका लाखौँ जनताको आन्दोलनको बलमा राजनीतिक दलका शीर्ष नेताले घुँडा टेकेर कान्छो प्रदेशको रुपमा स्थापना भएको कर्णाली प्रदेशको स्थापना दिवसको अवसरमा आज मुख्यमन्त्री तथा पूर्वमुख्यमन्त्रीले शुभकामना दिएका छन् ।

स्व. यामबहादुर बि.सी., टिकाराम गौतम, हरी बहादुर कुँवर र गोपालसिंह रजवार गरि चार जना सहिदहरुको बलिदानी तथा सयाँै यूवा घाईते भई जनताको बलमा स्थापित प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आजको दिन खुसियाली मनाउने दिन रहेको बताएका छन् ।

‘संघीय संरचना निर्माणका क्रममा हालको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी भएको निर्णयको विरोध एवम् छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित १३ दिनसम्म चलेको जनआन्दोलन र चार जना सहिदको बलिदानपश्चात् कर्णाली प्रदेश स्थापना भएको हो। प्रदेश प्राप्तिका लागि बलिदान गर्नुहुने महान सहिदहरुको सम्झना एवम् सम्मान र प्रदेश प्राप्तिको खुशियाली मनाउन कर्णाली प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना तथा सहिद दिवसका रुपमा मनाउने र कर्णाली प्रदेशभर सार्वजनिक विदा दिदै आएको छ ।’ उनी भन्छन, ‘कर्णाली केवल भौगोलिक इकाई मात्र होइन । यो गौरवशाली इतिहास, संस्कृति र परम्पराको धरोहर हो। संघीय संरचनाले यस पहिचानलाई सम्मान र अधिकारको आधार प्रदान गरेको छ। प्रदेश संरचना केवल प्रशासनिक व्यवस्था मात्र नभई नागरिक अधिकार र जनसहभागिताको आधार हो । यस संरचनाप्रति अपनत्व बढाउनु हामी सबैको साझा दायित्व हो। हामी सबै मिलेर कर्णालीलाई विकास, सुशासन र सामाजिक न्यायको प्रदेश बनाउने संकल्प लिनुपर्छ। यही संकल्पले नागरिकमा प्रदेशप्रतिको अपनत्व बढाउनेछ र कर्णालीलाई उज्ज्वल भविष्यतर्फ डो¥याउने छ ।’

उनले कर्णाली अझै पनि भौगोलिक विकटता, पूर्वाधारको कमी, स्वास्थ्य तथा शिक्षा सेवामा असमानता, रोजगारी अभाव जस्ता चुनौतीबीच उभिएको बताए । ‘यी चुनौतीलाई अवसरमा बदल्ने दृढ संकल्प हामीसँग छ । सुशासन र सामाजिक न्यायका आधारमा कर्णालीलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन हामी प्रतिवद्ध छौँ । यस यात्रामा सरकार मात्र होइन, सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण कर्णालीवासीको सक्रिय सहकार्य अपरिहार्य रहन्छ ।’ उनले भनेका छन् ।

‘विकास, समृद्धि र सामाजिक न्याययुक्त कर्णाली हाम्रो साझा गन्तव्य हो । हामी सबैको संयुक्त प्रयास, एकता र दृढ इच्छाशक्ति नै त्यस गन्तव्यसम्म पुग्ने मार्ग हो । आज यस दिनले सहिदको सपना साकार पार्ने संकल्पसहित, संघीयताको मर्म आत्मसात गर्दै, प्रदेश संरचनाप्रति गौरव र अपनत्व बढाउँदै हामी सबै मिलेर कर्णालीलाई समृद्धिको बाटोतर्फ अघि बढाउन सबैमा प्ररेणा मिलोस ।’ मुख्यमन्त्री कँडेलले दिएको शुभकामना सन्देशमा उल्लेख छ ।

यता, नेपाली काँग्रेस संसदीय दलका नेता एवम पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा शुभकामना दिएका हुन ।

‘कर्णाली प्रदेश स्थापना एवम् सहिद दिवस–२०८२ को उपलक्ष्यमा सम्पूर्ण कर्णालीबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाईसहित उत्तरोत्तर प्रगति,समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उनले लेखेका छन्, ‘साथै,कर्णाली प्रदेश स्थापनार्थ आफ्नो प्राणको आहुती दिने अमर वीर सहिदहरु स्वर्गीय यामबहादुर बि.सी., टिकाराम गौतम, हरी बहादुर कुँवर र गोपालसिंह रजवारलगायतमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र प्रदेश स्थापनार्थ भएको आन्दोलनमा परि घाइते तथा अपाङ्ग जीवन बिताइरहेका व्यक्ति एवम् परिवार र सम्पूर्ण कर्णालीवासीमा उच्च सम्मान व्यक्त गर्दछु ।’

 


सम्बन्धित समाचार