Loading... आजः ३ कार्तिक २०८२, सोमबार

४ वर्षदेखि बन्द रहेको २९ करोडको ढोका, डोल्पाको मसिनेचौर विमानस्थलको दुर्दशा

अलपत्र वन्दा विमानस्थलको धावनमार्गमा गाई,आकाशमा शून्यता
डोल्पा जिल्लाको मसिनेचौर विमानस्थल । निर्माण पुरा भएको चार वर्षमा एक पटक पनि यहाँ जहाज उडानको परिक्षण भएको छैन । तस्वीरः पूर्ण सार्की/डोल्पा ।

सुर्खेत । डोल्पा जिल्लाको मसिनेचौरमा झण्डै २९ करोड लगानी गरेर निर्माण गरिएको विमानस्थल अलपत्र परेको छ । विमानमा राज्यले २८ करोड ६० लाख लगानी गरेर कालोपत्रे गराई सकेको अवस्था भएपनि विमानस्थलमा विमान नआउँदा गाई गोरु चरनको स्थलको रुपमा प्रयोगमा आउन थालेकाृ छ भने कालोपत्रे पनि विस्तारै जीर्ण हुने अवस्थामा पुग्न लागेको हो ।

यसरी विमानस्थल निर्माण गर्ने तर राज्यको लगानी करोडौं गर्ने अनि त्यसलाई प्रयोगविहीन बनाउँदा राज्यको लगानी वालुवामा पानी भनेसरह भएको पाइएको हो ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७, पाहाडामा अवस्थित मसिनेचौर विमानस्थल निर्माण कार्य सम्पन्न भएको चार वर्ष पुगिसकेको छ तर पनि कहिले सञ्चालनमा आउला भनेर स्थानीयवासी चिलगाडीको तीव्र प्रतिक्षामा बसिरहेका हुन ।

२०५१ सालमा तत्कालिन जिल्ला विकास समितिका सभापति स्वर्गीय ओम बहादुर बुढाले शिलान्यास गरेको उक्त विमानस्थल निर्माणकालागि स्थानीयले प्रति रोपनी १७ हजारका दरले जग्गा दान गरेका थिए । शिलान्यास भएको झण्डै एक वर्ष पछि विमानस्थलको निर्माण प्रक्रिया सुरु गरिएको विमानस्थलमा हाल सबै संरचना निर्माण भइसकेको अवस्था छ तर ती निर्माण भएका संरचना जीर्ण हुँदै गइरहेका छन् ।

नागरिक उड्डयन प्राधिकरण काठमाडौंंका अनुसार एयरपोर्ट कालोपत्रेका लागि मात्रै २५ करोड खर्च भएको छ । बाँकी रकम टर्मिनल भवन, सुरक्षा भवन, घेराबार, खानेपानी, कर्मचारी निवास निर्माणमा खर्च भएको छ । अहिले विमानस्थल बनेको ३२ वर्ष भइसकेको छ । तर विमानस्थलले जहाज अझै देख्न पाएको छैन ।
तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मसिनेचौर विमानस्थलमा परीक्षण उडानको मिति तोक्दै दुई पटक फेसबुकमा पोस्ट समेत गरे । तर जहाज भने आएन ।

तर, मसिनेचौर विमानस्थल कच्ची अवस्थामा हुँदा भने परीक्षण उडान भएको थियो । आजभन्दा १२ वर्षअगाडि परीक्षण उडान गरिएको थियो । २०७० साल भदौमा सिंगल इन्जिन गरेको नाइन एजेजी कल साइनको मकालु एयरलाइन्सले सफल रूपमा परीक्षण गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकसहित भएर वरिष्ठ प्रशिक्षक विमान चालक तेन्जिङ लामाले जहाज अवतरण गराएका थिए । परीक्षण उडान सफल भएपछि चार–पाँच महिना मकालु, गोमा, काष्ठमण्डप लगायतका एयरलाइन्सले उडान गरेका थिए । कच्ची हुँदै सफल परीक्षण उडान भएर सञ्चालनमा आएको मसिनेचौर विमानस्थलमा कालोपत्रे भइसकेपछि भने परीक्षण उडान हुन सकेको छैन ।

निर्माण कार्य पूरा भएको लामो समय बितिसक्दा पनि जहाज नआएपछि राज्यको करोडौं लगानी भएको मसिनेचौर विमानस्थलका भौतिक संरचना जीर्ण बन्न थालेका छन् । टर्मिनल भवनको सिसा फुटेको छ भने भवनका भित्ताहरू पनि पुराना हुन थालेका छन् ।

विमानस्थल क्षेत्रको सुरक्षाका लागि लगाइएको घेराबारसमेत भत्किएको छ । संरक्षण नहुँदा तारजाली लगाइएको फलामका एंगल नै धेरै ठाउँमा ढलेका छन् भने केही ठाउँमा भाँचिएको समेत पाइएको छ । जहाज अवतरणका लागि बनाइएको विमानस्थलको धावनमार्ग मान्छे र पशुबस्तुको आउजाउ गर्ने बाटो लगायत खेलकुद मैदानमा परिणत भएको छ ।

धावनमार्गभरि पशुबस्तु दिसापिसाब गरेर फोहोर बनाएका छन् । राज्यले जतिसक्दो छिटो एयरपोर्ट सञ्चालनमा नल्याए राज्यको करोडौं लगानी त्यसै खेर जाने डोल्पाका सरोकारवालाको भनाई छ ।


सम्बन्धित समाचार