कर्णालीको ‘भिभिआईपी’ क्षेत्र ईत्राम नै असुरक्षित, मुख्यमन्त्री निवासको छिमेकमा दिनदहाडै चोरी

सुर्खेत । भन्दा पत्यार नलाग्न सक्ला, कर्णाली प्रदेशका मुख्यमन्त्री देखि मन्त्रीहरु बस्दै आइरहेको वीरेन्द्रनगर–७, इत्राम नै असुरक्षित देखिएको छ ।
२०८२ असार ३१ गते मुख्यमन्त्री निवासबाट मुश्किलले पैदल हिँड्दा तीस सेकेण्ड लाग्ने एक नीजि घरमा राखिएको ६ तोला सुन, तीन लाख ७५ हजार नगद दराज फोडेर चोरी भएको डेढ महिना पुग्न लाग्दासमेत प्रहरीले एक जनालाई हुलिया मिलेको भनेर नियन्त्रणमा लिएको भएपनि चोरी भएको सामान भने फेला पार्न सकेको छैन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदहरु, उच्च पदस्थ कर्मचारीहरु बस्ने ठाउँ रहेको इत्राममा चोरी हुनु र चोर फेला नपर्नु आश्चर्यलाग्दो कुरा भएको स्थानीय बताउँछन् ।
अर्को अच्चम, चोरी भएको स्थानबाट बढीमा तीन सय मिटरको दुरिमा प्रदेश प्रहरी गण छ भने प्रदेश प्रहरी कार्यालय पनि छ । नजिकै प्रदेश सभा पनि छ । त्यहाँ प्रहरीको ड्यूटी चौविसै घण्टा रहिरहन्छ, मुख्यमन्त्री निवासमा भने नेपाली सेनाले ड्यूटी गरिरहेको हुन्छ, त्यहाँ चोरी भएको कुरा पत्ता नलाग्नु अच्चमलाग्दो होईन त ?
दैलेख घर भएका हरिहर दशौंदी पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा कार्यरत छन् । उनि दिउँसो कार्यालय जान्छन् । दिउँसो चार बजेर ३१ मिनेट जाँदा माथि सेतो र कालो रंगको चेक सर्ट लगाएको, मुखमा कालो मास्क लगाएको, एक व्यक्ति दशोंँदी बस्ने कोठाको रेकी गर्छ । करिब चार बजेर ४१ मिनेट जाँदा चोर उक्त घरमा घरवेटीको कोठाको ताला फोडेर माथिल्लो तलामा रहेको दशौंदीको कोठामा जान्छ ।
घरवेटी शिक्षक भएका कारण उनको घरमा पनि दिउसो कोही पनि थिएनन, भने दशौंदी एक्लै बस्ने गर्दै आएका थिए ।
त्यसपछि चोर माथि गएर दराजको ताला फोड्छ, कपडा निकालेर बाहिर फाल्छ र सुन, नगद र सुनको बील समातेर फरार हुन्छ ।
यी माथि उल्लिखित कुरा मुख्यमन्त्री निवासमा राखिएको सिसिटिभी क्यामेराबाट थाहा हुन्छ, चोरको हुलिया समेत ।
‘म कार्यालयमा गएको थिएँ । साँझ आउँदा ढोका फोडेको देखेँ, हतार हतार घरभित्र गएर दराज हेर्न थालेँ ।’ करिब डेढ महिना अघिको घटना सम्झदै दशौंदी भन्छन, ‘त्यहाँ हेर्दा कपडा छरपस्ट थिए भने दराज भित्रको लकर पुरै फोडिएको थियो । हामीले नजिकै तीज आउन लागेको भन्दै हामीले गरगहना, र नगद घरमै राखेका थियौँ ।’
उनले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए ।
‘मैले सिसिटिभीको फूटेजसहितको उजुरी दिएको थिएँ । हालसम्म चोर पत्ता नलागेको खबर पाएँ ।’ उनि भन्छन, ‘भिभिआईपी बस्ने क्षेत्रमा दिन दहाडै चोरी हुनु अच्चम लाग्दो हो । अब प्रहरीले खोजी गरिरहेको होला भन्नेमा म विश्वस्त छु ।’
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनबुड थापाले भने आफूहरुले चोरको खोजी गरिरहेको प्रतिक्रिया दिए ।
‘ईन्जिनियर सरको घरमा चोरी भएको हो । हामीले सिसिटिभीमा प्राप्त हुलिया अनुसार एक जनालाई विगत १६ दिनदेखि नियन्त्रणमा लिएका छौंँ ।’ उनले भने, ‘उक्त व्यक्तिबाट चोरी भएको मालसामान र नगद केहि पनि सवुत फेला भने पर्न सकेको छैन ।’
पहिलोप्रेस
११ भाद्र २०८२, बुधबार १२:०९