नेपालमा देखियो शापू रोग, सेतो पुतलीबाट जोगिन आव्हान
सुर्खेत । नेपालको कास्की जिल्लामा सेतो पुतलीको संसर्गबाट लाग्ने रोग शापू देखा परेसँगै कर्णाली प्रदेशमा पनि यो रोगबाट जोगिन सर्वसाधारणलाई प्रदेश स्वास्थ्य निर्देशनालयले आव्हान गरेको छ ।
आज वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गर्दै शापू रोग लागेको ४८ घण्टासम्म उपचार नगरेको खण्डमा आँखाको ज्योति गुम्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन रोकायाले जानकारी दिए ।
‘शापू एक दृष्टिनाशक रोग हो । प्राय वर्षा याम पछि भदौ देखि मंसिर महिना सम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।’ उनले भने, ‘हालसम्म सेतो पुतली (भोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ ।’
आँखा अस्पताल सुर्खेतमा कार्यरत शापू रोग विशेषज्ञ डा. आकांक्षा रानाले यो रोग अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको जानकारी दिईन ।
‘एक्कासि एउटा आँखा रातो हुनु, चिप्रा नलाउनु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा तत्कालै कमी हुनु, आँखा दुख्नु र उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु यो रोगको लक्षण हो ।’ डा. रानाले भनिन्, ‘यसका लागि सेतो पुतलीको संसर्गबाट टाढै रहने, धेरै उज्यालो सेतो बत्ती नबाल्ने, साँझ र राती झ्याल ढोका बन्द गर्ने, सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर मात्र सुत्ने गरेमा यो रोगबाट मुक्ति पाईन्छ ।’
उनले समयमै उपचार भएमा यो रोग निको हुने बताईन । ‘यो रोग लागेको खण्डमा तत्काल आँखा जचाउनुपर्ने हुन्छ । तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ ।’ उनले भनिन्, ‘यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जानुपर्छ र आफूखुसी औषधी वा जडिबुटिको प्रयोग गर्नुहुँदैन ।’
उनले यो रोगको उपचार गर्दा बढीमा २५ हजारसम्म लाग्ने बताईन ।
पहिलोप्रेस
१९ भाद्र २०८२, बिहीबार १५:५४