लुटपाट गर्ने उदेश्यले कर्णालीमा क्षति भएको निष्कर्ष, कर्णाली प्रदेश सभामा झण्डै चार करोडको क्षति
सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जेनजी आन्दोलनमा भएको क्षतिको अनुगमन गरेका छन् । बुधबार प्रवक्ता शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका कर्णाली प्रदेशका सरकारी कार्यालय तथा निवासहरुको अनुगमन गरेका हुन् ।
मन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जलस्रोत तथा उर्जाविकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयहरुका सरकारी निवासको अनुगमन गरेका उनका स्वकीय सचिव हेमन्त दशौंदीले जानकारी दिए ।
उनकाअनुसार मन्त्री शाहले कर्णाली प्रदेशसभाको पनि अनुगमन गरेका छन्। जेनजीका नाममा यी कार्यालयहरुमा तोडफोड तथा आगजनी गरिएको छ ।
यस्तै, मन्त्री शाहसँगै प्रदेश सभामुख नन्दा गुरूङ, उप–सभामुख यशोदा न्यौपाने, प्रदेशसभा सचिव जीवराज बुढाथोकी र कृषि मन्त्रालयका सचिव संजिवकुमार कर्ण लगायतले अनुगमन गरेका थिए ।
यस्तै, प्रहरीका अनुसार जेनजी आन्दोलनबाट कर्णाली प्रदेशका तीन जिल्लाका सरकारी तथा निजी गरी ५२ बढी भौतिक संरचना तहसनहस भएका छन् ।
मन्त्री शाहले आन्दोलन लुटपाट गर्ने उदेश्यले भएको जस्तो देखिएको बताए ।
क्षति भएका ४५ वटा सवारी साधनहरुमा सरकारी गाडीहरु पूर्णरुपमा ६ वटा, १३ आंशिक गरी जम्मा १९ र मोटरसाइकतर्फ १४ वटा पूर्ण र ५ वटा आंशिक गरी जम्मा १९ वटा छन् ।
इता, कर्णाली प्रदेश सभामा आगजनीका कारण ३ करोड ९४ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदेश सभा सचिव बुढाथोकीका अनुसार यो क्षति भनेको भवन बाहेकको हो ।
पहिलोप्रेस
१ आश्विन २०८२, बुधबार १८:३९