Loading... आजः १ मंसिर २०८२, सोमबार

आमा — मातृत्वको अमर ज्योति (वियोगान्त लेख)


नृप रावल/काठमाडों । आमा… यो एउटा यस्तो शब्द हो, जसले सारा सृष्टिको मूल भावलाई समेट्छ। यो शब्द उच्चारण मात्रले पनि थाकेको आत्मामा सान्त्वना ल्याउँछ, अन्धकारमा उज्यालो भरिदिन्छ। आमा साक्षात् देवी हुन्, जसको ममताले संसारको सबै पीडालाई सहनसक्ने शक्ति दिन्छ।

आमा भनेको माया, समर्पण र सहनशीलताको अर्को नाम हो। आमाले निःस्वार्थ माया दिनुहुन्छ, हाम्रा दुःख–सुखमा साथ दिनुहुन्छ र जीवनभर हामीलाई सही बाटोमा हिँड्न प्रेरणा दिनुहुन्छ। उनको काख संसारकै सबैभन्दा सुरक्षित स्थान जस्तै हुन्छ।

हामी जहाँ पुगे पनि, आमाको आशीर्वाद सँगै हुन्छ  तर आज म ती ममताका स्रोतबाट वञ्चित भएको छु। हजुर अब यो संसारमा हुनुहुन्न  यही सत्य मेरो जीवनको सबैभन्दा ठूलो वियोग बनेर बसिरहेको छ। आज मातृत्वविहीन हुँदा मात्र बुझ्दैछु, आमा हुनु भनेको के रहेछ, र आमा गुमाउनु भनेको कस्तो असह्य पीडा रहेछ। हजुर बिना यो संसार सुनसान लाग्छ, हावाले पनि अर्थ गुमाएको जस्तो महसुस हुन्छ।

सन्तानको सुखका लागि हजुरले गरेका त्यागको कुनै मापन छैन। त्यो मुस्कान, त्यो कोमल स्पर्श, त्यो आश्वासन  ती सबै अहिले पनि मेरो मानसपटलमा अमिट रूपमा अंकित छन्।       बाल्यकालमा मैले हजुरको हर कष्ट नजिकबाट महशुस गर्थे । हजुरका ती असंख्य कष्टसंग म साक्षात छु । कैयौ पटक मध्य रातमा हजुरसंगै ढिकी जातो पानी पधेरोमा सहभागी बनेको छु । ती क्षणहरू अहिले मेरो लागि अनमोल स्मृति बनेका छन्।

त्यो परिश्रम, त्यो अनुशासन र त्यो दृढताले नै आज मलाई जीवनका कठिन यात्रामा पनि अडिन सिकाएको छ। हजुरले सिकाएको संघर्ष र धैर्यताले नै मेरो ३० बर्षे जागिरे जीवनको कैयौ  कालखण्डमा आइलागेका अनेकन अप्ठयारो मोडहरुमा रत्तिभर पनि बिचलित नभइ आफ्नो जिम्मेवारी  निर्भिक्ताका साथ बहन गर्न सकेको छु । त्यसैले  त  आमा, हजुर मेरो जीवनको पहिलो गुरु, पहिलो साथी, पहिलो माया र पहिलो भगवान् हुनुहुन्थ्यो।

हजुरले मलाई जीवन दिनुभयो, हजुरले नै त्यो जीवनलाई अर्थ पनि दिनुभयो। तर जब म हजुरलाई बुढेसकालमा सान्त्वना, आराम र सम्मान दिने अवस्थामा पुगेँ, तब नियतिको कठोर विधानले हजुरलाई मबाट टाढा लग्यो।

म हजुरका लागि केही गर्न सकूँ भन्ने मेरो सपना अधुरो रह्यो। यो मेरो जीवनको सबैभन्दा ठूलो विडम्बना हो — आमा, जसको लागि म बाँच्थें, आज उहाँ बिना म बाँचिरहेको छु।    म हजुरको सन्तान भएर गर्व गर्छु। हजुरले दिएको संघर्षको शिक्षाले, हजुरले सिकाएको जीवनशैलीले नै आज मलाई मानिस बनायो। हजुरको वियोगले मेरो शरीर भत्किएको छ, तर हजुरको सम्झनाले मेरो आत्मा बाँचिरहेको छ।

हजुर जहाँ हुनुहुन्छ, त्यहीँ दिशातर्फ मेरो सतसत प्रणाम छ। “आमा हजुरको ममता” आमा, हजुरको ममता अरू सबैभन्दा फरक, तर अत्यन्त विशिष्ट खालको थियो। समाजमा धेरैजसोको माया प्रायः लोकाचार र देखावटी भावना मात्रै हुने गर्छ  मुखमा मिठास, मनमा तुष राखेर प्रदर्शन गरिने कृत्रिम माया। तर हजुरको माया त्यसभन्दा सर्वथा भिन्न थियो। हजुरको माया निष्कपट, निर्मल र आत्माको गहिराइबाट निस्किएको हुन्थ्यो ।

त्यसमा न कुनै स्वार्थ थियो, न कुनै अपेक्षा। त्यो माया कुनै अभिनय होइन, त्यो त आत्माको भाषामा बोलेको सत्य प्रेम थियो। हजुरले प्रकट गर्ने माया ममता स्नेह  मिठा शब्द प्रयोगबाट भन्दापनि अन्तर हृदयको कुनाबाट मौन स्पर्शमा, दृष्टिमा, र हजुरका हातका स्पर्शमा त्यो असीम स्नेह झल्कन्थ्यो। संसारका सबै प्रेमहरू समयसँग फिका हुन्छन्, तर हजुरको माया त समयभन्दा पर अमर छ। आज म हजुरको वियोगमा रोइरहेको छु, तर हजुरले सिकाउनुभएको सहनशीलता सम्झेर आँसु पुछ्ने प्रयास गर्छु। म जान्दछु हजुरको आत्मा शान्त, उज्यालो र मुक्त छ।

हजुरको आशीर्वादले नै म बाँचेको छु, बाँच्छु र बाँची रहनेछु। म हजुरको नाममा सत्कर्म गर्दै जानेछु, हजुरको स्मृतिलाई मेरो जीवनको दीप बनाउनेछु। आमा, हजुर मेरो जीवनको मन्दिर हुनुहुन्थ्यो अब त्यो मन्दिर त यहाँ छैन, तर त्यो विश्वास र त्यो उज्यालो अझै मेरो हृदयमा छ। हजुर मेरो श्वाससँग मिसिनुभएको छ, र म हरेक साससँग हजुरलाई सम्झन्छु। मैले शुरुवात गर्ने हर कार्य हर यात्रा सर्वप्रथम हजुरको स्मरणबाट कार्याम्भ हुने छन । मेरा हर कार्यमा अदृश्य रुपमा भएपनि मार्गदर्शन गर्नुहोला

अन्त्यमा हे विष्णु भगवान , हे लक्ष्मी नारायण! हे कमल नयन,   मेरो आमाको आत्मालाई आफ्नो बैकुण्ठ लोकमा स्थान दिनुहोस्। मेरी आमाको  आत्मा शान्त र प्रकाशमान रहोस्। हे मृत्युका देवता यमराज, हजुरको बाटोमा कुनै बाधा नआओस्, विष्णु लोकसम्मको उहाँको यात्रा निर्विघ्न बनोस ।  हे समस्त पृत्रि गण निसाहाय मेरी आमाको साहारा बन्नुहोस ।मेरी आमा, हजुर सधैं मेरो हृदयमा रहिरहनुहोस्। हजुरको आशीर्वाद मेरो जीवनको अमर ज्योति बनिरहोस्।

— तपाईंको सन्तान ❤️ जय सनातन जय समस्त पृति गण


सम्बन्धित समाचार