सुर्खेतमा शुक्रबार मात्रै उदघाटन गरिएको ‘शान्ताको अचार’ आउटलेटमा आगलागी, पन्ध्रलाख बढिको क्षति

सुर्खेत । नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित शुक्रबार उदघाटन गरिएको शाखामा आगलागी भएको छ ।
शुक्रबार मात्रै भव्य उद्घाटन भएको यस शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । आगलागीको घटनालाई नेतृ चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् ।
प्रहरीका अनुसार, बिहान करिब ३ बजेतिर नगरपालिकाको दमकल गणेशचोकतिर पानी भर्न जाँदै गर्दा दमकलका चालकले बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरी दमकलसहित घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट आगो पसलसँगै रहेको फेन्सी स्टोरबाट सुरु भई अचार पसलमा फैलिएको देखिन्छ । आगजनीबाट चौधरीको करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यद्यपि, प्रहरीले क्षतिको यकिन विवरण बनाउने काम गरिरहेको छ ।
चौधरीले सामाजिक सञ्जालमार्फत तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरीसँग माग गरेकी छिन् । उनले लेखेकी छिन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु ।’
विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
यता, उक्त पसल रहेको स्थान वरिपरि सिसिटिभी क्यामेरा नहुँदा कसैले आगो लगाई दिएको हो की भनेर अनुसन्धान गर्ने बाटो बन्द भएको हो ।







पहिलोप्रेस
३० कार्तिक २०८२, आईतवार १०:२४