प्रदेश अस्पताल कालागाउँमा अस्पताल निर्देशक डा. खड्काले बनाए आमावुवाको सम्झनामा मन्दिर, पदको दुरुपयोग गरेको लाग्यो आरोप
सुर्खेत ।
कर्णाली प्रदेशको प्रदेश अस्पतालमा अस्पताल निर्देशक डा. डम्बर खड्काले अस्पताल परिसर भित्र आफ्ना आमा बुवाको नाममा मन्दिर निर्माण गरेको भन्दै पदको दुरुपयोग गरेको आरोप लागेको छ । रक्तसञ्चार केन्द्रकालागि एक कट्टा जमिन मागिरहेको रेडक्रसलाई जग्गा नदिएको प्रशासनले आफै निर्देशक रहेको अस्पतालमा बाबु आमाको सम्झनामा अस्पतालको प्राङ्गणभित्रै उनले मन्दिर स्थापना गरेका छन् ।
उनले अस्पताल प्रशासनभित्रै मन्दिर निर्माण गरेपछि उनको आलोचना सुरु भएको छ भने अस्पताललाई आफ्नै सम्पतीको जसरी प्रयोग गरेको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरुले विरोध गरेका छन् ।
‘उहाँले अस्पताल प्राङ्गण भित्र यसरी मनलाग्दी रुपमा आफ्ना बुवा आमाको नाममा मन्दिर बनाउन हुन्थेन । यो अधिकारको दुरुपयोग गरेका हुन । यो पद र शक्तिको दुरुपयोग नै हो ।’ नाम उल्लेख नगर्ने शर्तमा एक डाक्टरले भने, ‘कोरोना महामारीका कारण ज्यान गुमाएका डा. हरि सापकोटाको नाउँमा उक्त मन्दिर बनाएपनि हुन्थ्यो । अन्य कुनै सार्वजनिक पदधारण गरि कर्णालीको नाम चिनाएका व्यक्तिको नाउँमा मन्दिर बनाएपनि हुन्थ्यो तर यहाँ परिवारवादको नाउँमा मन्दिर निर्माण गरिनु दुखद छ ।’
अस्पताल निर्देशक डा. डम्बर खड्का र विष्णुबहादुर खड्काले कृष्ण जन्माष्टमीको दिनमा श्री राधाकृष्ण मन्दिरको उदघाटन गरेका थिए । मुर्तिको मुन्तिर लेखिएको लेखमा भनिएको छ, ‘वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ निवासी पुजनीय बुवा स्वर्गीय प्रेमबहादुर खड्का तथा ममतामयी माता स्वर्गिय माया देवी खड्का ज्यूको सम्झनामा खड्का परिवारद्धारा निर्मित श्री राधाकृष्ण मन्दिर ।
अस्पतालका निर्देशक डा. खड्काले यसरी आफ्नै आमा वुवाको नाममा मन्दिर निर्माण तथा उदघाटन गर्दा अस्वपतालमा कार्यरत डाक्टर, त्यहाँको अन्य प्रशासन भने बोल्ने आँट नै गर्न सकेन ।
‘सरकारी जमिन, सरकारी अस्पतालमा यसरी निर्देशक भएकै भरमा मनपरि गर्न हुँदैन ।’ वीरेन्द्रनगर ४ का कमल खनालले भने, ‘अस्पताल पशासनको यो मनोमानीको चरमोत्कर्ष हो । आफ्नै हात जगन्नाथ भन्ने कुरा प्रष्ट भएको छ ।’
अस्पतालमा अस्पतालको निर्देशककै लगानीमा आफ्ना बुवा आमाको नाममा मन्दिर स्थापना भएसँगै आलोचना त बढेको छ नै, अन्य धर्म मान्ने व्यक्तिले पनि मस्जिद, चर्च निर्माणकालागि आन्दोलन गरेको खण्डमा अस्पताल प्रशासनले के जवाफ दिने भन्ने प्रश्न उठेको छ ।
‘भोली त्यहाँ कोही क्रिश्चियन धर्मावलम्बीले चर्च बनाउन खोज्ला, कसैले मस्जिद बनाउन खोज्ला त्यतिबेला बनाउन दिने कि नदिने ?’ वीरेन्द्रनगरका नवराज आचार्यले भने, ‘अस्पताललाई त्यसरी नीजि बस्तुका रुपमा प्रयोग गर्न हुँदैन । यो अन्याय नै हो ।’
सबै तस्वीर सामाजिक सञ्जालबाट साभार गरिएका हुन ।
पहिलोप्रेस
१९ भाद्र २०७८, शनिबार ०८:२४