प्रदेश सभा भित्रको ‘मन्दिर भत्काउने’ मुख्यमन्त्री अस्पतालभित्रै मन्दिर बनाइदा मौन
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफूलाई धर्म र कर्मभन्दा टाढा रहेको दाबी गर्छन । उनी शसस्त्र द्धन्द्धको समयमा छैटौं डिभिजनमा कमाण्डर समेत भइसकेका कारण उनीमाथि हिन्दु धर्म र संस्कृतिप्रतिको वितृष्णा बढेको कुरा कर्णाली प्रदेश सभा भित्र रहेको सरस्वती मन्दिर भत्काउन लगाएदेखि नै खुलेको छ ।
२०७४ माघमा कर्णाली प्रदेश सभाको पहिलो वैठक पुरानो हलमा बसेको थियो । नयाँ भवनको खोजी भइरहेको समयमा वीरेन्द्रनगर ७ मा रहेको शैक्षिक तालिम केन्द्र इत्राममा रहेको हललाई थप व्यवस्थापन गर्नुपर्ने भन्दै एक वर्ष भन्दा बढि समय उक्त हलमा नै प्रदेश सभाका अधिवेशनहरु सञ्चालन गरिएको थियो ।
इत्राममा रहेको प्रदेश सभा हललाई पुननिर्माण तथा मर्मत गर्ने सुरु भएसँगै हाताभित्र रहेको सरस्वती माताको मन्दिरलाई मुख्यमन्त्री शाहीले भत्काउने आदेश समेत दिएका थिए ।
‘यस्ता मन्दिर सन्दिर नराख्नुस । मन्दिर बनाउँदैमा सरस्वतीले विद्या दिदैनन् । यो तत्काल भत्काईहाल्नुस ।’ हालको प्रदेश सभा प्राङ्गणमा रहेको सरस्वती माताको मन्दिर भत्काउन सुरक्षाकर्मीलाई उनले तीन पटक भन्दा बढि समय ठाडो आदेश दिएका थिए । ‘तपाईहरुलाई कतिपटक भन्नुपर्छ, मन्दिर हटाउनुस भनेर ?’ उनले त्यहाँका कर्मचारी र मर्यादापालकलाई भनेका थिए ।
उतिबेला सभामुख राजबहादुर शाहीले मन्दिर नभत्काएपनि हुने भनेर भनेपनि मुख्यमन्त्री शाही टसमस नहुँदा अन्त्यमा मन्दिर भत्काउने निर्णयमा सुरक्षा निकाय पुगेको थियो ।
‘मुख्यमन्त्री आफैंले उक्त मन्दिर भत्काउन बारम्बार निर्देशन दिएपछि हामीले आदेशको पालना गर्नैपर्ने भो ।’ उतिबेला नेपालप्रेसकर्मीसँग एक प्रहरी जवानले भनेका थिए, ‘सभाुमखले् नहाटाऔं भनेर भन्दा पनि मुख्यमन्त्री ज्यूले मान्नु भएन । जिद्दी गर्नुभयो ।’ त्यसपछि आफूले हटाएको ती जावनको भनाई थियो ।
शैक्षिक तालिम केन्द्रमा विद्याकी देवि सरस्वतीको मुर्ति राखिएको भएपनि उक्त मुर्ति हटाउन न्वारान देखिको बल लगाएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने प्रदेश अस्पताल कालागाउँमा अस्पताल निर्देशक डा. डम्बर खड्काले पदिय हैसियतको दुरुपयोग गर्दे आफ्नै बुवा र आमाको नाममा राधाकृष्ण मन्दिर निर्माण गरेपछि भने मौन देखिएका छन् ।
अस्पताल निर्देशक डा. डम्बर खड्काले रक्तसञ्चार केन्द्रकालागि एक कट्टा जमिन मागिरहेको रेडक्रसलाई नदिएको समाचार यसअघि नै नेपालप्रेसमा प्रकाशित भइसकेको छ । प्रदेश अस्पताल भित्र रहेका बर र पिपल रोपेका एक दखम्पतीलाई चौतारी बनाउन नदिएका डा. खड्काले आफ्नै बाबु आमाको सम्झनामा अस्पतालको प्राङ्गणभित्रै मन्दिर स्थापना गरेपछि चर्को आलोचना भइरहेको छ ।
उनले अस्पताल प्रशासनभित्रै मन्दिर निर्माण गरेपछि उनको आलोचना सुरु भएको छ भने अस्पताललाई आफ्नै सम्पतीको जसरी प्रयोग गरेको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरुले विरोध गरेका छन् ।
‘उहाँले अस्पताल प्राङ्गण भित्र यसरी मनलाग्दी रुपमा आफ्ना बुवा आमाको नाममा मन्दिर बनाउन हुन्थेन । यो अधिकारको दुरुपयोग गरेका हुन । यो पद र शक्तिको दुरुपयोग नै हो ।’ नाम उल्लेख नगर्ने शर्तमा एक डाक्टरले भने, ‘कोरोना महामारीका कारण ज्यान गुमाएका डा. हरि सापकोटाको नाउँमा उक्त मन्दिर बनाएपनि हुन्थ्यो । अन्य कुनै सार्वजनिक पदधारण गरि कर्णालीको नाम चिनाएका व्यक्तिको नाउामा मन्दिर बनाएपनि हुन्थ्यो तर यहाँ परिवारवादको नाउँमा मन्दिर निर्माण गरिनु दुखद छ ।’
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काका सहोदर भाई डा. डम्बर खड्का र विष्णुबहादुर खड्काले कृष्ण जन्मााष्टमीको दिनमा श्री राधाकृष्ण मन्दिरको उदघाटन गरेका थिए । मुर्तिको मुन्तिर लेखिएको लेखमा भनिएको छ, ‘वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ निवासी पुजनीय बुवा स्वर्गीय प्रेमबहादुर खड्का तथा ममतामयी माता स्वर्गिय माया देवी खड्का ज्यूको सम्झनामा खड्का परिवारद्धारा निर्मित श्री राधाकृष्ण मन्दिर ।
अस्पतालका निर्देशक डा. खड्काले यसरी आफ्नै आमा वुवाको नाममा मन्दिर निर्माण तथा उदघाटन गर्दा अस्वपतालमा कार्यरत डाक्टर, त्यहाँको अन्य प्रशासन भने बोल्ने आँट नै गर्न सकेन ।
यसबारेमा अस्पताल निर्देशक डा. खड्का र मुख्यमन्त्री शाहीसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
पहिलोप्रेस
२८ भाद्र २०७८, सोमबार १६:२१