शक्तिमा हुनेको भक्तलाई मात्रै राज्यले सहयोग गर्ने रहेछः द्वन्द्वपीडित
सुर्खेत ।
तत्कालिन शसस्त्र द्धन्द्धको समयमा राज्य तथा माओवादीका आक्रमणका कारण द्धन्द्ध वपीडित बनेकाहरुले अहिलेसम्म परिचयपत्र समेत पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले ‘पद’ र ‘पावर’ मा भएकाहरुले सामान्य चोटपटक लागेकालाई परिचयपत्र दिलाएको भन्दै वास्तविक रुपमा घाईते भएका, अन्यायमा परेर शरिर अंङ्ग भंङ्ग भएकाहरुलाई राज्यले कुनै वास्ता नगरेको बताएका हुन ।
सुर्खेत लेकबेसी नगरपालिका–४ का गोपी खत्री र तुलबहादुर गमडामगरलाई तत्कालिन शाही नेपाली सेनाले २०५९ साल माघ ९ गते नियन्त्रणमा लियो । सेनाले नियन्त्रणमा लिएर १ महिना वेपत्ता बनायो । त्यही समयमा खत्री र मगरलाई तत्कालिन शाही नेपाली सेनाले चरम यातना दियो । यातनाका कारणले उनीहरु अपाङ्गता भए ।
‘त्यतिबेलाको यातनाका कारण अहिलेसम्म औषधी उपचार गरिरहनुपर्छ । औषधी उपचार गर्नकालागि पैसा चाहिन्छ । लाखौं खर्च गर्दा पनि सञ्चो हुन सकेको छैन । अपाङ्गता भएका कारणले समस्या भएको मात्रै होइन, राज्यले दिने अपाङ्गता परिचय पत्र समेत पाउन नसकेको सकेका छैनौं ।’ लेकबेसी नगरपालिका–४, सुर्खेतका गोपी खत्रीले भने, ‘हामी कुनै पक्षमा संग्लन थिएनौं । तर, हामीलाई राज्य पक्षले माओवादीलाई पालेको आरोपमा निर्घात कुटपिट ग¥यो । बर्बाद बनायो ।’
दैलेख जिल्लाको दुल्लु नगरपालिका ६ छिउडीपुसाकोटकी मन्सरा विकको पीडा पनि उस्तै छ । २०६१ साल मंसिरमा माओवादी सशस्त्र युद्ध उत्कर्षमा थियो । दुल्लुमा माओवादीहरुले चन्दा आतंक, कुटपिट, ज्यान मार्ने काम सुरु गरिरहेका थिए । त्यहि समयमा त्यहाँ माओवादी विरुद्ध आन्दोलन सुुरु भयो । आन्दोलनले माओवादीलाई लखेट्यो । त्यहि परिणाम स्वरुप दैलेखमा माओवादीको स्थिति अहिलेसम्म पनि कमजोर छ ।
‘हामीले मान्छे मार्न पाईदैन भन्दै आन्दोलन गरेका थियौं । शान्ति समिति समेत गठन गरेर सरकार र माओवादी पक्षलाई खबरदारी गरेका थियौं ।’ मन्सरा भन्छिन्, ‘२०६१ साल मंसिर २२ गते बेलुका साढे ६ बजेको हुँदो हो, त्यो समयमा हामीले माओवादीले कब्जा गरेर ल्याएको भैंसी, र घर भत्काएर ल्याएको काठ फिर्ता गर्न लागेका थियौं । हाम्रो छलफल जारी भएको समयमा माओवादीले बम हाने । त्यो बमको छर्रा लागेर म सख्त घाईते भएछु । मेरो होस उडेछ । म लगायत त्यहाँका लक्षीराम खड्का, गोविन्द खड्का पनि सिरियस घाईते भएछन् । त्यसपछि हामीलाई उपचार गर्न कोहलपुर लगिएछ । राज्यबाट चालीस हजार मात्रै मेरो उपचारमा खर्च भएको हो ।’ अन्यले हालसम्म उपचार खर्च पाउनु भएको छैन भन्दै मन्सराले थपिन, ‘राज्यले हुने खानेलाई मात्रै सहयोग गर्ने, उपचार गर्ने गर्दो रहेछ, हामीजस्ताको वास्ता नै नगर्ने रहेछ ।
दुल्लु नगरपालिका वडा नं. ६ कै गीता शाही पनि माओवादी पीडित नै हुन । उनको पसल मात्रै माओवादीले लुटेनन्, उनका श्रीमानलाई निर्घात कुटपिट गरे । उनको घरबाट दुइ लाख भन्दा बढि चन्दा जर्वजस्ती असुले । ती मध्ये तीन जनाले आत्महत्या गरेको र दुइ जना अहिलेपनि निस्फिक्री गाउँमा घुमिरहेको उनले बताईन । ‘उनीहरुले मेरो सम्पतीमा हालीमुहाली त गरे नै, मेरो पसल समेत लुटे । मलाई बर्बाद बनाए ।’
कालिकोट तिलागुफा नगरपालिका–२ भाटपानीका आनन्द पाण्डे न माओवादी जनयुद्धमा संग्लन थिए न नेपाली सेना वा सरकारी पक्ष । उनी घाइते हुँदा न माओवादीले जनयुद्ध गरिरहेको थियो न नेपाली सेनाले माओवादी बिरुद्धको कारवाही । तर, उनी द्वन्द्वका बेला छाडिएको बम बिष्फोटनमा परेर २०६७ साल असार २ गते स्कुलबाट आएर मकै बारी खन्ने क्रममा बिष्फोटन परेर घाइते भए ।
द्वन्द्वमा संग्लन नरहेका पाण्डे ११ वर्षको उमेर नै उनी घाइते हुन पुगे । अहिले उनको दुवै आँखाको ज्योती गुमेको छ । दुवै आँखाको ज्योती गुमेका पाण्डेलाई न राज्य पक्षले हेरको छ न तत्कालिन बिद्रोही पक्षले । ‘मेरो घटना सशस्त्र द्वन्द्वको समय (विस.२०५२–६३)मा न भएको भएपनि त्यसैको कारणले भएको हो ।’ पाण्डे भन्छन्,‘त्यो बम त त्यही बेला छाडिएको हो नी ? तर, सरकारी कुनै निकायले हेरेको छैन् ।’
सरकार पटक पटक त्यसबेलाका द्वन्द्वरत पक्ष गएको अहिले पनि उनीहरुले आफुहरु जस्ता अपाङ्गता भएका नागरिकहरुको समस्या नसुल्झाएको पाण्डेले बताए । ‘त्यो बेलाका दुवै पक्ष पटक पटक सरकारमा गएका छन् ।’ उनले भने,‘तर, अहिलेसम्म पनि हाम्रो समस्या बुझेका छैनन् ।’
त्यस्तै, म्याग्दी बेनी नगरपालिकाका ३२ वर्षीया सुरेन्द्र खत्री २०६२÷०६३ को शान्तिकाल गाउँ नजिकैको जंगलमा ब्राखा चराउन गएको बेला २०६३ साल असार १२ गतेका दिन जंगलमा छाडिएको बिष्फोटक पदार्थ खेलाउँदा दुबै हात गुमाएँ । ‘जंगलमा प्लाष्टिकमा बेचेरको अवस्था एउटा बस्तु भेटाए । भित्र के होला भनेर खोल्दा मेरा दुवै हात गुम्नुका साथै शरिर क्षतविक्षत भयो ।’ खत्री सम्झन्छन्,‘म न द्वन्द्वमा संग्लन भएको थिए । न कुनै पक्षले त्यो बेला द्वन्द्व गरिरहेको थियो । तर, म अपाङ्गता हुनुको कारण त्यही द्वन्द्व थियो ।’
विस.२०६३ मंसिर ५ मा तत्कालीन विद्रोही पक्ष र सरकारबीच शान्ति सम्झौता भयो । देशमा शान्ति र संविधान आइसकेको छ । दसवर्षे ‘जनयुद्ध’का क्रममा दण्डहीनताले सीमा नाघेको थियो । देशमा नयाँ संबिधान आएको भएपनि द्वन्द्वपछि तत्कालिन माओवादी बिद्रोही र राज्यबाट पलपत्र पारेर छाडिएका बम तथा अन्य हातहतियारबाट घाइते तथा अपाङ्ग बनेका अहिलेसम्म पनि समस्या रहेका छन् । उनीहरुको उपचार तथा क्षतिपूर्ति पनि पाउन सकेका छैनन् ।
तत्कालिन समयमा कुनै पनि पक्षमा नभएका उनीहरु अहिले द्वन्द्वमा संग्लन पक्षहरु सत्तामा हुँदा कसैले चासो नदिएका कारणले समस्यामा परेका हुन् ।
द्वन्द्वमा संग्लन नभएका तर, त्यही कारणले अपाङ्गताका भएका नागरिकहरुले हक अधिकार लागि र उनीहरुको जीवनयापनमा सुधार ल्याउनका लागि उनीको औषधीउपचारका लागि आफ्नै पहलमा २०७५ सालमा द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल गठन गरिएको खत्रीले जानकारी दिए । ‘यस्ता समस्या भएका नागरिकहरुको समस्या समधानका लागि द्वन्द्वपीडितका सवाल उजागार गर्नका लागि सञ्जालको गठन गरिएको हो ।’ उनले भने,‘अहिले हामी द्वन्द्वपीडित अपाङ्गताका सवालमा कुरा उठाइरहेको छौं ।’
१० वर्षे जनयुद्ध समयमा हजारौ नागरिकहरु द्वन्द्वका कारणले अपाङ्गता भएको त्यसपछि द्वन्द्वमा छाडिएका हातहतियार तथा बिष्फोटक पदार्थबाट अन्य धेरै नागरिक अपाङ्गता भएको उनीहरु अहिले खाना बस्न तथा औषधी उपचारमा समस्या भएको अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले बताए । ‘गास, बास, कपास र आधारभूत आवश्यकताका लड्नु परेको छ ।’ उनले भने,‘द्वन्द्वका कारणले अपाङ्गताका भएका नागरिकहरुले अहिलेसम्म सरकारले द्वन्द्वपीडितका लागि उपलब्ध गराएको अन्तरिम राहतसम्म पाउन सकेका छैनन् ।’
संविधानमा मौलिक हक अन्र्तगत सबै नागरिकले गास, बास र कपास पाउनुपर्ने व्यवस्था भएपनि आफूहरुले पाउन नसकेको उनीहरुको भनाई थियो ।
पहिलोप्रेस
४ आश्विन २०७८, सोमबार २०:३६