Loading... आजः २८ जेष्ठ २०८३, बिहीबार

खोलालाई उर्जामा परिणत गर्न सहयोग गर्नुसः मन्त्री श्रेष्ठ

प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढ्न इच्छुक: दातृ निकाय


सुर्खेत ।
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा मन्त्री दीनबन्धु श्रेष्ठले आफूले खोलालाई उर्जामा रुपान्तरण गर्न खोजेको बताउँदै त्यसमा सहयोग गर्न दातृ निकायलाई आव्हान गरेका छन ।

आज कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र बेलायती राजदूतावास र बेलायती सहयोग नियोग (डिइफआईडी)का पदाधिकारीवीच भएको भेटवार्ता मा उनले कर्णालीमा खोलानालाहरु प्रसस्त रहेपनि त्यसको प्रयोग हुन नसकेको बताएका थिए ।

मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले चालू आर्थिक वर्षदेखि ‘खोलालाई उर्जामा परिणत’ गर्ने नीति लिएको बताउँदै त्यसमा सहयोग गर्न आव्हान गरेका थिए । उनले कर्णालीको मार्सी चामल र अर्गानिक स्याउको अन्र्तराष्ट्रिय पहिचानका लागि पनि बेलायत सरकार र नियोगको सहयोगको अपेक्षा गरे ।

‘कर्णाली संभावनाको खानी भएर पनि पछाडि परेको कर्णाली प्रदेशको विकासका लागि बेलायत सरकारको सहयोग महत्वपूर्ण रहेको छ ।’ मन्त्री श्रेष्ठले भने, ‘जलवायू परिवर्तनको असरलाई न्यूनिकरण गर्दै राष्ट्रिय प्रसारणलाइन नपुगेका कर्णालीका जिल्लाहरुमा विद्युतीकरण, अर्गानिक प्रदेशलाई कार्यान्वयन गर्नका लागि सिंचाई, तटवन्धलगायतका क्षेत्रमा सहयोगको आवश्यकता रहेको छ ।’
कार्यक्रममा जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सचिव धर्मेन्द्र भmाले बेलायती सहयोग नियोगले पूर्वाधार निर्माणमा पनि सहयोग गर्न आग्रह गरे । ‘तालिम, गोष्ठीलगायतमा नियोगले गरेको सहयोग महत्वपूर्ण छ,’ उनले भने, ‘अव कर्णालीको विकास र समृद्धिका लागि पूर्वाधारतर्फ ध्यान दिनु आवश्यक छ ।’

बेलायती दूतावासका टीम नेता तथा शासन सल्लाहकार इगबेर्टले सबैभन्दा पछाडि परेको कर्णालीलाई बेलायत सरकार र जनताले प्राथमिकतामा राखेको बताए । उनले जलबायू परिवर्तनलाई न्यूनिकरण गर्नका लागि प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरु उत्सुक रहेको बताए । ‘जलवायू परिवर्तन न्यूनिकरणका लागि छुट्टै इकाई स्थापना गरेर प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढ्न इच्छुक छौं,’ उनले भने, ‘नेपालका अरु प्रदेशको तुलनामा फरक तरिकाले हामी कर्णालीमा काम गर्न चाहन्छौं ।’