मन्त्री हुँदा मन्त्रालयमा व्यस्त भण्डारी सांसद हुँदा जुम्लाको विकास निर्माणमा कस्सिए
सुर्खेत ।
कर्णाली प्रदेश सरकारमा झण्डै साढे तीन वर्ष आन्तरिक मामिला तथा कानून मन्त्रीको भूमिकामा रहेर काम गरेका पूर्व मन्त्री नरेश भण्डारी पछिल्लो समयमा जुम्लाका विकास निर्माण आयोजना बनाई छाडने अभियानमा लागेका छन् ।
सिंजा सभ्यताबारेमा देशमै पहिलोपटक गैरसरकारी विधेयक कर्णाली प्रदेश सभामा दर्ता गराएर चर्चित बनेका सांसद भण्डारीले आज उर्जा मन्त्री पम्फा भुषालसँग भेट गरेर कर्णालीको मुहार बदल्ने परियोजना बनाईदिन माग गरेका छन् ।
‘जवा मेघा जलविद्युत आयोजना स्टोरेज जलविद्युत आयोजना हो । अनुमानित १७० मेघावाट क्षमताको यो आयोजना कर्णालीको जनजीवन बदल्ने आयोजना हो । यो आयोजना बर्खा सिजनमा बढी भएको पानी जम्मा गरेर सुख्खा समयमा बिद्युत उत्पादन गरिने परिकल्पना गरिएको छ । नदीको प्राकृतिकपनमा असर हुदैन । आयोजनाको डेस्क अध्ययन मात्रै भएको छ । सम्भाब्यता र डिटेल अध्ययन गर्न बाँकी छ ।’
पहिलोप्रेससँग उनी भन्छन्, ‘आयोजना फिजिबल भएमा तिला र जवा नदीको बर्षा यामको पानी जम्मा गरेर विद्युत उत्पादन गर्ने योजना छ । आयोजनाको ड्याम पातारासी गापामा बन्नेछ । तिला नदीको गुठीचौर गापा खण्डको पानी लिइने भएपनि जल उपयोगमा असर नहुने सुचित गर्न चाहन्छुँ । त्यो खण्डको पानीको उपभोक्ता म स्वयं भएको वास्तविकतालाई हिमा नदीको विषयमा सरोकार राख्ने मित्रहरुलाई नभुल्न अनुरोध गर्दछुँ । तिला नदीको पानीलाई जलविद्युत उत्पादनमा उपयोग गर्दा त्यहाँका उपभोक्ताहरुको सहमति आवश्यक हुनेछ ।’
उनले सिञ्जा नेपालीको गौरव, सम्पदा, पुख्र्यौली थलो एवं नेपाली भाषा र सभ्यताको उद्गमस्थल भएको बताउँदै यसको विकासमा लागि पर्नुपर्नेमा जोड दिए ।
‘यसको संरक्षण र विकास साझा दायित्व हो । यसप्रतिको दायित्वलाई संकुचित नवनाउँ । कर्णाली सम्भावनाको सरोवर हो । सम्भावनालाई समृद्धिमा अनुवाद गर्न हातेमालो गरौं ।’ उनले भने, ‘योजना निर्माण भएमा प्रभावित क्षेत्रका नागरिकहरू निशुल्क शेयर होल्डर बन्नेछन् । यो बहुउद्देश्यीय आयोजना हो । पातारासी हिमाल पर्यटन पर्वद्धन हुनेछ ।’ उनले भने । ‘उर्जा मन्त्रीले यो आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने आश्वासन दिनु भएको छ ।’
पहिलोप्रेस
२१ आश्विन २०७८, बिहीबार २१:१४