Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीबाट ६ सय बढि खेलाडी नवौं खेलकुदमा सहभागि हुँदै

बन्द प्रशिक्षणका लागि बजेट अभाव

सुर्खेत ।
कर्णाली प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ सय भन्दा बढि खेलाडी सहभगि हुने भएका छन् । गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गते देखि कार्तिक ३ गतेसमम हुने प्रतियोगितमा कर्णालीले पहिलोपटक ‘रक वि’ खेलमा समेत सहभागिता जनाउने भएको छ ।

कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालका अनुसार यसपटक हुने खेलकुद प्रतियोगितामा कर्णालीबाट २९ खेलमा खेलाडीहरुले भाग लिने भएका छन् । ‘हामीले खेलाडी छनौट समेत सम्पन्न गरिसकेका छौं ।

अबको केहि दिनमा नै छनौट भएका खेलाडीहरुको नामावली सार्वजनिक गर्छौं ।’ पहिलोप्रेससँग उनले भने ।
कर्णालीबाट भलिबल, फुटबल तथा एथ्लेटिक्समा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, मार्शल आर्ट तर्फ बक्सिङ, जुडो, कराते, उसु तथा तेक्वान्दो लगायतमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, ह्याण्डबल, बुद्धिचाल, वास्केटबलमा समेत खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बन्द प्रशिक्षणका लागि बजेट अभाव
कर्णाली प्रदेशका ६ सय भन्दा बढि खेलाडीका लागि बन्द प्रशिक्षण गर्न बजेट अभाव हुने भएको छ । खेलाडीलाई दैनिक रुपमा एक हजार खाना तथा खाजा खर्च दिएपनि प्रदेश सरकारले दिने भनेको पचास लाख बजेटले मुस्किलले पाँच दिन मात्रै बन्द प्रशिक्षण गर्न सकिने भएको हो । परिषदका अनुसार केन्द्रबाट ४९ लाख बजेट आएको छ भने प्रदेश सरकारले यसका लागि ५० लाख रुपैंया विनियोजित गरेको छ ।

‘कर्णालीका दशै जिल्लाबाट खेलाडी आएका छन् । उनीहरुलाई आउने जाने, बस्ने र खाने व्यवस्था गर्न आवश्यक छ । दैनिक एक हजारको दरले खेलाडीलाई खाना तथा खाजा खर्च दिदाँ रकम अभाव हुने भएको छ ।’ उनी भन्छन्, ‘कम्तिमा एक खेलाडीलाई चार पटकसम्म भाडा दिनुपर्ने अवस्था छ ।’

उनका अनुसार खेलाडी र प्रशिक्षकसहितको भत्ता दैनिक रुपमा ६ लाख पचास हजार खर्च हुने भएको छ । यस्तै, दश लाख बराबरको खेलकुद सामाग्री, पोखरा जाने खर्च लगायतका साना तिना खर्च चलाउन बजेट अभाव हुने देखिएको हो ।

‘हामीले कम्तिमा पनि खेलाडीलाई दश देखि पन्ध्र दिन बन्द प्रशिक्षणमा राख्नुपर्ने आवश्यकता देखेका छौं ।’ उनी भन्छन्, ‘त्यसका लागि थप बजेट माग गरेर अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेका छौं । त्यहाँबाट पचास लाख आएको खण्डमा केहि सहज हुनेछ ।’

यता, आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहले खेलकुदका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताईन । ‘कर्णालीको पहिचान स्थापित गर्न प्रदेश सरकारले खेल क्षेत्रमा लगानी गर्दै आइरहेको छ । बजेट अभावका कारण कुनै पनि समस्या हामी आउन दिदैनौं ।’

उनी भन्छिन्, ‘मन्त्रालयमा आएको बजेट माग सम्वन्धी प्रस्ताव हेरेर आवश्यक निर्णय लिन्छौं ।’


सम्बन्धित समाचार