जीवनलाई सहज बनाउन सबभन्दा पहिले पूर्वाधार विकास अनिवार्य छः पूर्व योजना आयोग सदस्य डा. रोकाय
डा. दीपेन्द्र रोकाया कर्णाली योजना आयोगका सदस्य बनिसकेका छन् । नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक समेत रहेका रोकाया हुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा छन् । तिनै डा. रोकायसँग पहिलोप्रेसले विविध विषयमा कुराकानी गरेको छ । उक्त कुराकानीको सम्पादित अंशः
तपाई विकासको आधार के विषयलाई बनाउनुहुन्छ ?
– मानव विकास सुचकांकको आधार बनाएर हेर्नुपर्छ । यसले मान्छेको ज्ञान¸ आय र आयुको कसीबाट हेर्ने गर्दछ ।
कर्नालीको मानव विकास सुचकांक कसरी सुधार्न सकिएला ?
– २०७५÷७६ मा कर्नालीको साक्षरता दर ६६ प्रतिशत रहेको थियो । राष्ट्रिय दर ९८ भएकाले हामीले आर्थिक वर्ष २०८०÷८१ सम्ममा ९५ प्रतिशत पुर्याउने लक्ष्य राख्यौ । २०७५÷७६ को आधार वर्षलाई लिँदा कर्नालीको प्रतिव्यक्ति आय ६०० अमेरिकी डलर थियो । राष्ट्रिय प्रतिव्यक्ति आय १¸४०२ अमेरिकी डलर रहेको थियो । हामीले आर्थिक वर्ष २०८०÷८१ सम्ममा १¸१४७ अमेरिकी डलर पुर्याउने लक्ष्य राख्यौ । कर्नालीको अपेक्षित आयू ६७ वर्ष थियो । राष्ट्रिय अपेक्षित आयु ६९.७ वर्ष रहेको अवस्थामा हामीले आर्थिक वर्ष २०८०÷८१ सम्ममा ७० वर्ष पुर्याउने लक्ष्य राखेका थियौ ।
यो त राष्ट्रिय र प्रदेश लक्ष्य भयो । हामीमा गरिवी व्यापक छ नि ?
–हो¸ हामीसँग गरिवी छ । त्यो गरिवी भनेको मानसिक रुपमा छ । स्वस्थ जीवन नहुनुमा छ । राष्ट्रिय पहुँच नहुनुमा छ । औषधीजन्य उत्पादनले बजार नपाउनुमा छ । यो गरिवी विगतमा काठमाडौले सिर्जना गराएको हो । त्यस बाहेक अरु कुरामा कर्नाली प्रचुर सम्पदाले भरिपूर्ण छ । यसको पहिचान र परिचालन गर्नुपर्छ ।
हाल कर्नालीको बहुआयामिक गरिवी जनसङ्ख्याको दर ३९ प्रतिशत रहेको छ । राष्ट्रिय बहुआयामिक जनसङ्ख्याको गरिवी दर २८.९ प्रतिशत रहेको छ भने हामीले २०७५÷७६ मा ५१ प्रतिशतको बहुआयामिक गरिबीलाई आर्थिक वर्ष २०८०÷८१ सम्ममा २५ प्रतिशतमा पुर्याउने लक्ष्य राखेका थियौ । यतिबेला कर्नालीको बहु–आयामिक गरिबी ३९.५ प्रतिशतमा झरेको छ ।
तपाई योजना आयोगको सदस्य भएर प्रथम पञ्चवर्षीय योजना ल्याउनु भएको मान्छे । कर्नालीमा के गर्न सकेमा यहाँको गरिवीलाई सदाको लागि विदा गर्न सकिएला ?
– हाम्रो सापेक्षतामा जीवनलाई सहज बनाउन सबभन्दा पहिले पूर्वाधार विकासका कामहरु अघि बढाउनु पर्छ । सडक पूर्वाधार¸ ऊर्जा उत्पादन र प्रशारण लाइन विस्तार¸ भरपर्दो सञ्चार नेटवर्क विस्तार¸ सबै समयमा उपलब्ध हुने सिँचाइको व्यवस्था¸ स्वच्छ खानेपानीको उपलब्धता र सुरक्षित बस्ती विकास पहिलो प्राथमिकता हो । यी काम योजनाबद्ध रुपमा अघि बढाउन खोजिएको छ । यसका लागि प्रभावकारी कार्यान्वयन हुनु पर्दछ ।
पूर्वाधार निर्माणसँगै आर्थिक विकासमा लाग्नुपर्छ । यसका लागि हामीसँग भएको कृषिजन्य¸ वनजन्य¸ जडीबुटीजन्य¸ वातावरणजन्य¸ पर्यटनजन्य¸ खानीजन्य¸ पानीजन्य उद्योगको स्थापना र सञ्चालन गर्नुपर्छ । यसका लागि स्थानीय उत्पादन¸ उद्योग र बजारको व्यवस्था गर्नुपर्छ । लेवलिङ¸ ग्रेडिङ¸ ब्रान्डिङ र बजारीकरण आवश्यक छ । हाम्रो भू–क्षेत्रको विशेषताअनुसारको तयारी गर्नुपर्छ । यसै कार्यमा जोड दिन सकियो भने रोजगारी सिर्जना हुन्छ । अहिले कामका लागि भौतारिन्छौ । भोली अन्तका मान्छे कर्नालीमा कामका लागि जाने वातावरण बन्छ ।
यसैगरी सामाजिक विकासमा पहल लिन सक्नु पर्छ । त्यसबेला मात्र हामी अरुसँग गणना हुने तहमा पुग्नेछौ । त्यसका लागि मानव पुँजी निर्माणमा लाग्नु पर्छ । नीतिगत रुपमा बालबालिकालाई लगानी¸ युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा दिनुपर्छ । बालबालिका भविश्यका कर्णधार हुन् । उनीहरुको लालनपालन विशेष तरिकाले हुन आवश्यक छ । अहिले असमान पढाई समान प्रतिस्पर्धा गर्नपर्ने भएकाले अब विश्व जनशक्ति तयार गर्नेगरी अगाडि बढ्नुपर्छ । शिक्षा दिक्षा पनि त्यही महत्वका साथ दिनुपर्ने हुन्छ ।यो मानव पुँजी निर्माणको महान काम हो । स्वस्थ नागरिक पाउनु नै मुख्य उद्देश्य राख्नुपर्छ । समाजमा रहेका महिला¸ दलित र जनजाति समुदायलाई मुलप्रवाहमा ल्याउन शिप विकास¸ जिविकोपर्जन र विशेष अधिकार दिएर अगाडि बढाउनु पर्दछ ।
आजको समाज विज्ञान प्रविधिको प्रयोगबाट अघि बढ्ने समाज हो । हामीले सूचना तथा सञ्चार प्रविधि उत्कृष्टता केन्द्रको स्थापना र सञ्चालन गर्नुपर्छ । नव–प्रवर्तनका कामलाई अगाडि बढाउनुका साथै आर्टिफिसिएल इन्टेलिजेन्सका काम अगाडि बढाउन लगाउनु पर्छ । यस्ता काम गर्न असम्भव मान्नु हुँदैन ।
बस्ती स्तरका आवश्यकता र प्राथमिकता समुदाय आफैले निर्धारण गर्नुपर्छ । परियोजना बैंकको व्यवस्था गर्नुपर्छ । क्षेत्रगत अध्ययन र अनुसन्धानका काम भए भने मात्र सही योजना तर्जुमा गर्न सकिन्छ । यसरी विकासको तयारी गर्न सकिएको खण्डमा हरेक आयोजनाको लगानी सुनिश्चित गर्न सकिन्छ । जसअनुसार जनशक्तिको आँकलन गर्न सकिन्छ । संवेदनशीलता अनुसार शान्ति सुरक्षाको व्यवस्था गर्नपर्ने हुन्छ । यसरी शासकीय सुधार¸ मानवअधिकार र भ्रष्टाचार नियन्त्रण गरी हामीले चाहेको विकास र सुशासन कायम गर्न सकिन्छ ।
अहिले यसखाले अभ्यास भएको देखिदैन त ?
– अहँ¸ छैन । दीर्घकालीन सोच राखेर काम अगाडि बढाइएको पाइदैन । हामीसँग जे जति स्रोत साधन छ¸ त्यसको खास पहिचान र परिचालन भएको छैन । केही गरौ भन्ने सोच अगाडि बढाउँदा नियन्त्रण गर्न मात्र केन्द्रित हुने मनोवृत्ति हावी छ ।
यसमा को दोषी छन् ?
– सबभन्दा पहिले राजनैतिक पार्टीहरु जिम्मेवार हुनपर्छ । राजनैतिक पार्टी भनेका देश र जनताका अभिभावक बन्न बनेका संस्था हुन् । ती पार्टीका मुल नेतृत्वहरुले देश र जनताको हित संरक्षण गर्ने र विकासका लागि पहल गर्ने हुन् । राज्य सञ्चालनका आधार तय गर्ने पनि उनीहरुले नै हो । तर यहाँ उल्टो भईरहेको छ । यहाँ अरुका एजेण्डामा राजनैतिक पार्टीहरु र आफ्नै स्वार्थमा कर्मचारीतन्त्र फसीरहेको छ । यसैले यहाँ जे जति परिवर्तन भएका छन्¸ तिनको अपनत्व गर्ने स्थानमा जनता पुगेकै छैनन् । यसले समाजमा असन्तोष फैलिरहेको छ ।
कसरी ?
– नेपालमा राजतन्त्र जान्छ भनेर कसैले सोचेको थियो ? थिएन । माओवादीले जनयुद्धको घोषणा गर्यो । एक दशकमा सामन्ती राजतन्त्रको अन्त भयो । गणतन्त्र आयो । नयाँ संविधान जारी भयो । यस संविधानले नदिएको अधिकार केही छ ? सबै छ । तर यसको प्रभावकारी कार्यान्वयन भएको छैन । समाजवादउन्मुख भनेर सबै पार्टीलाई चित्त बुझाउने बाटो भएको छ ।
नेपालमा समाजवादबारे बुझ्ने र व्याख्या गर्ने तरिका आ–आफ्नै छन् । जबसम्म संविधानमा घोषणा गरिएका कुरा कार्यान्वयनमा आउँदैनन्¸ जनताले परिवर्तनको महसुस गर्न सक्तैनन् । त्यो भनेको राजनैतिक पार्टीहरुको घोषणा–पत्र¸ सरकारको नीति तथा कार्यक्रम र कर्मचारीतन्त्रबाट हुने सेवाले महसुस गराउन सकिन्छ । त्यो अहिलेसम्म भएकै छैन ।यसले गर्दा असन्तुष्टी बढाएको छ । जसले गर्दा अहिल्यै संघीयतालाई असफल व्यवस्था भनी व्याख्या गर्न थालिएको छ । यो दुःखद पक्ष हो ।
देश कसरी उभो लाग्ला ?
– योजनाबद्ध विकासको खाका ल्याउने र त्यो समय सीमा तोकेर काम गर्न थाल्ने हो भने उभो लागि हाल्छ । सोपानक्रममा कार्य सम्पादन करार गर्नैपर्छ । जसअनुसार अपेक्षित उपलब्धी हासिल गर्न सकिन्छ । यदि त्यसो गर्न सकिएन भने यो देश हाम्रै कारणले पछि पर्नेछ । यसको मुल जिम्मेवारी राज्य सञ्चालकहरुले लिनुपर्छ । यसमा मिडियाले पनि सही भूमिका खेल्न सक्नुपर्छ ।
राजनैतिक पार्टीहरुले भोलि आफ्नो सरकार बनाउँदा कस्लाई के गर्ने भनी आन्तरिक जनशक्तिको तयारी र उसले खेल्नपर्ने विभागीय नीतिगत भूमिका दिई राखेको हुनुपर्छ । यहाँ सबै पार्टीहरु तदर्थमा चलेका छन् । यसैले पनि निर्णायक ठाउँमा पुगेकाहरुलाई शुरुमा बुझ्नै समय लाग्छ । केही कुरा बुझेँ भन्ने लाग्ने बेलासम्ममा परिस्थिति अर्को स्थानमा पुगी सकेको हुन्छ । यो विथिति हटाउन राजनैतिक दलहरु लाग्नैपर्छ ।
तपाई नेकपा (माओवादी केन्द्र) हुम्ला जिल्ला संयोजक हुनुहुन्छ । अहिले तपाईले भनेका कुरा के आफ्नो जिल्लामा लागु गर्नु भएको छ ?
– एकदमै राम्रो जिम्मेवारीबोध गराउने प्रश्न गर्नुभयो । तपाईलाई धन्यवाद दिदै आफ्नो जिम्मेवारी र पहलकदमीको बारेमा जानकारी दिन चाहन्छु ।
म २०७८ फागुनको अन्तिम हप्ता जिल्ला संयोजक भएँ । त्यतिबेला स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक भई सकेको थियो । यसै कार्यतालिका अनुसार पार्टीको कार्ययोजना बनाएर लागियो । हुम्लामा सात पालिका र ४४ वडा छन् । यसमा तीन अध्यक्ष¸ तीन उपाध्यक्ष¸ १९ वडा अध्यक्ष र ८१ जना सदस्यलाई जिताउन सफल भयौ । कार्यपालिकामा ७ जनालाई मनोनित गरायौ । एवं प्रकारले जिल्ला समन्वय समितिमा उपप्रमुख र तीन सदस्यलाई निर्विरोध निर्वाचित गराउन सफल भयौ । यसरी हामीले हुम्लामा पहिलो पार्टी बनाउन सफल भएका छौ । अब प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । हामी गठबन्धनको मर्म र स्थानीय जनमतअनुसार अगाडि बढ्ने छौ ।
यहाँले सोधेको प्रश्नतिर केन्द्रित भएर भन्नु पर्दा मैले अघि भनेको दिशामा पार्टीलाई केन्द्रित गराईरहेको छु । स्थानीय सरकारमा रहेका साथीहरुलाई जिल्ला समन्वयले समयमै पहल लिन १६ बुँदे नीति तथा कार्यक्रमका साथ आवश्यक निर्देशन दिएको छ । स्थानीय सरकार सञ्चालन संयन्त्रको नेतृत्व र संरचना बनाएर पठाएको छ । स्थानीय सरकार संसदीय बोर्ड गठन गर्न लगाई सकेका छौ ।
हाम्रो जिल्ला समन्वयको प्रथम विस्तारित बैठकले वार्षिक कार्यक्रम पास गरिसकेको छ । अहिले हामी दोस्रो चौमासिक योजनामा छौ । असोज १५ सम्म रणनैतिक योजना कार्यान्वयनमा छौ । त्यसपछि कार्यनैतिक कार्यक्रमसहित अपेक्षित उपलब्धी हासिल गर्ने गरी अघि बढ्ने छौ । मंसिर १६ गते अर्को बैठक बसी जनशक्ति व्यवस्थापन तथा योजना तर्जुमा गर्ने पक्षमा छौ । यो घोषित कार्यक्रम हो ।
एवं प्रकारले हामी विद्यमान अवस्था र संरचना तथा भविश्यमा गर्न सकिने कामको सिर्जना गरी तिनै विभागीय कामहरु अगाडि बढाउन चाहन्छौ । पार्टीमा रहेका सबै कमरेडको रुचि र क्षमतालाई आवश्यकताअनुसार परिचालन गरी पार्टीले लिएको नीतिगत लक्ष्य पुरा गर्न चाहन्छौ । कसैलाई जिम्मेवारीमाथि जिम्मेवारी र कसैलाई कुनै पनि जिम्मेवारी नपाउने अवस्थाको अन्त्य गराउन चाहन्छौँ । पार्टीमा लाग्ने सबैले आफ्नो भविश्य देखुन् भन्ने गरी कार्ययोजना बनाउँछौ ।
माओवादीमा तपाईको सोच कार्यान्वयन हुन सक्ला ?
– पार्टीलाई गतिशील बनाउने हो भने यसै गर्नुपर्ने हुन्छ । पार्टीलाई सबै खाले सम्भावित अवस्थामा पनि नेतृत्व दिने गरी तयारी अवस्थामा राख्नु पर्छ । हाम्रो पार्टी नेतृत्वलाई हामीहरुको सिर्जनशीलताको खाँचो छ । केन्द्रले नीति दिने हो । प्रदेशले समन्वय गर्ने हो । जिल्लाले नेतृत्व दिने हो । स्थानीय तहले कार्यान्वयन गर्ने हो । यसो नगरी अहिलेको आवश्यकता र क्षमताको केन्द्रिकरण र नेतृत्व गर्न सकिदैन ।
हुम्लाजस्तो जिल्लामा जन्मेर पढे लेखेको मान्छे विषय विज्ञ भएर काम गर्नुभन्दा राजनीतिमा सक्रीय हुन खोज्नु भयो।तपाईलाई पार्टीका नेता कार्यकर्ताले साथ दिन्छन् त ?
– अर्को महत्वपूर्ण र संवेदनशील प्रश्न गर्नुभयो । हो¸ म देशकै सबैभन्दा दुर्गम जिल्ला हुम्लाको पनि कुनामा रहेको रादेउ गाउँमा धन सम्पतिका हिसावले कमजोर¸ समुदायका हिसावले पहिचान गुमाएको थपाल्या व्यासी कुलमा जन्मी हुर्केको मान्छे हुँ। यसैले मैले सानैदेखि काम गर्दै आन्दोलनकै बीचमा पढेको हुँ ।मैले औपचारिक शिक्षा विश्वविद्यालयबाट लिए भने अनौपचारिक रुपमा विश्वविद्यालयबाट पाइनेभन्दा बढी ज्ञान नेपाली समाजबाट सिकेको छु ।
पढे लेखेका मान्छेहरु जोखिम मोल्न तयार हुन्नन् । यसैले उनीहरुले एउटा पेशा व्यवसाय रोज्छन् र सुरक्षित जीवन विताउँछन् । राजनीति भनेको समाज सेवा हो । राजनीतिमा उच्च जोखिम हुन्छ । राजनीति बुझेको मान्छेले गर्न आवश्यक छ । राजनीतिले सबै कुराको नेतृत्व गरेको हुन्छ । यो राजनीतिको केन्द्रीय विषयलाई विज्ञले गर्ने कि अरुले ? विचार गर्नुहोस् । सही मान्छे सही ठाउँमा भयो भने यसले अर्कै माहौल निर्माण हुन्छ ।
थाहा छ¸ सही व्यक्ति सही ठाउँमा पुग्नलाई निकै कठीन हुन्छ ।
अप्ठेरो र दुःख परेका बेला थोरैले साथ दिएर देखा पर्न सक्छन् । तर सत्यको विजय हुने भएकाले छातीमा हात राखेर भन्नुपर्दा ऊर्जा हुने बेला केही गरौ भनेर दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको छु । यसमा अरु पार्टीका नेता¸ कार्यकर्ता र जनसमुदायले माग गरिरहेका छन् भने हाम्रो पार्टीका नेता¸ कार्यकर्ता र जनसमुदायले साथ नदिने कुरै भएन । अन्ततः सबैको साथ पाइन्छ भन्नेमा म ढुक्क छु । म सबैलाई आफ्नो कर्ममा भविश्य देख्ने आधार बनाउन क्रियाशील हुन चाहन्छु ।
त्यसो भए तपाईले टिकट पाउनु हुन्छ ? कहाँको टिकट लिएर हुम्ली जनताको प्रतिनिधित्व गर्ने सोच बनाउनु भएको छ ?
– पार्टीबाट टिकट पाइन्छ र चुनाव जितिन्छ भन्नेमा म ढुक्क छु । किन ? भनी सोध्नु हुन्छ भने मैले यसअघि देश र जनताको लागि गरेको कामको बारेमा हुम्लामा विज्ञापन गरिरहन पर्दैन । यो कुरा कर्नाली प्रदेशका ७९ पालिकालाई समेत थाहा छ । अझ भन्ने हो भने मिसन पत्रकारिता गरेका कारण देशभरका नेता¸ कार्यकर्ता तथा जनसमुदायलाई म कस्तो व्यक्ति हुँ भन्ने थाहा छ । यसैले टिकट पाउने र चुनाव जितिन्छ भन्नेमा कुनै दुविधा छैन । बरु मैले भोलि गर्ने जनसेवाका लागि संभावित कानुनहरुको निर्माण¸ विकास आयोजनाहरु र कर्नालीबासीको भविश्यको बारेमा खेल्नुपर्ने भूमिका सम्बन्धी सोची रहेको छु । पार्टीको नीति लागु गर्न जाने विषयलाई मैले सामान्य रुपमा लिएको छैन ।
हुम्लामा जो जित्छ उसले जनताको साथ छोड्छ भन्ने भनेको सुनिन्छ । यसको ग्यारेन्टी गर्ने विधि के हुन सक्ला ?
– विगतको गहिरो अनुभूति र शिक्षाले हामी गम्भीर छौ । हाम्रो राजनैतिक पृष्ठभूमिका आधारमा हुम्ला जिल्ला राजनैतिक दिशानिर्देश गर्ने स्थानमा हुनुपर्ने थियो । हाम्रै नेतृत्व पंतिको कमजोरीहरुका कारण आज जिम्मेवारीहरु पनि माग्न परिरहेको छ ।
म हुम्ली जनतालाई यो विश्वास दिलाउन चाहन्छु कि सैद्धान्तिक रुपमा प्रतिबद्धता जनाउँछु । व्यवहारिक रुपमा इमान्दारिता देखाउँछु । सांगठानिक रुपमा निरन्तर पहलकदमी लिन्छु । मलाई दिएको भूमिकाप्रति जनसमुदाय र पार्टीका कमरेडहरुसँगै निस्ठापूर्वक कार्ययोजना र कार्यतालिकाका साथ काम गर्न चाहन्छु । नीति र नेतृत्व गतिशील र पारदर्शी हुन सकेमा यसको हल संगठनात्मक रुपमा हुन्छ भन्ने लाग्दछ ।
समय दिनुभयो । अग्रीम शुभकामनाका साथ बधाई छ ।
– प्रदेश सभा भनेको प्रदेशको नीति बनाउने ठाउँ हो । यसले नेपाल सरकार र स्थानीय तहसँग जोड्न महत्वपूर्ण पुलको भूमिका निर्वाह गर्छ । यहाँबाट संविधानको मर्मअनुसार सहअस्तित्व कायम गर्न समन्वय र सहकार्य गर्न सकिन्छ । यहाँ कस्ता मान्छेले प्रतिनिधित्व गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा तपाईहरु तथा आम पाठक जानकार हुनुहुन्छ । पार्टी नेतृत्व र हुम्ली जनसमुदायलाई पनि यही कुरा अनुरोध गर्न चाहन्छु ।
अन्तमा मेरा निजी विचारलाई आम जनसमुदायको बीचमा पुर्याउन सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद । तपाई र तपाईको मिडियाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । असत्यमाथि सत्यको विजय भएको साँस्कृतिक प्रतिकका रुपमा दशै आइ सकेको छ । यो दशैले देशमा प्रगति¸ उन्नति र भातृत्वको भाव जगाओस् । आगामी मंसिर ४ गते गरिने मतदानले देशको मुहार फेर्ने आधार बनाउने चेतना देओस् भन्दै सबैलाई दशैको हार्दिक शुभकामना दिन चाहन्छु ।
पहिलोप्रेस
१७ आश्विन २०७९, सोमबार ०६:४८