आर्युवेदिक उपचारमा नागरिकको विश्वास जित्दै प्रदेश आयुर्वेद अस्पताल
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको प्रदेश आयुर्वेद अस्पतालले नागरिकको विश्वास जित्न थालेको छ ।
विभिन्न जडुवुटबिाट औषधी निर्माण गर्ने उक्त अस्पतालमा विभिन्न खालका रोगीहरु उपचारका लागि जाने गरेका छन् ।
र प्राकृतिक रुपमा उपचार गर्न प्रदेश अस्पताल लागेपछि पछिल्लो चरणमा भिआइपीहरुसमेत उपचारमा जान सुरु गरेका हुन ।
कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपाने, जुम्लाबाट स्वतन्त्रमा निर्वाचित प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाही र हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद जुम्कित लामाले अस्पतालबाट उपचार सुरु गर्न लागेका हुन ।
हात झम–झम गर्ने, दुख्ने, वाथरोगबाट पिडित उपसभामुख न्यौपाने हाल अस्पतालबाट नियमित रुपमा औषधी खाइरहेकी छिन् । उनलाई यस्तो समस्या पहिले देखि नै भएको बारेमा भने कुनै जानकारी नै थिएन, तर पछिल्लो दुई वर्षमा भने समस्या बढेर आयो ।
उक्त समस्या देखिएपछि उनि काठमाडौंको हेम्स अस्पतालमा उपचारका लागि पुगिन, एमआरआई गरिन, जसमा उनको हड्डी खिइएको भन्ने कुरा देखियो । त्यसकालागि थेरापी लिनैपर्ने सुझाव उनले पाईन डाक्टरहरुबाट ।
राजनीतिक जीवन विताईरहेकी उपसभामुख न्यौपानेलाई नियमित रुपमा थेरापी लिन सम्भव भएन ।
एकदिन पंक्तिकारसँग उनले आफ्नो समस्याबारे बताईन । मैले प्रदेश आयुर्वेदमा उपचारका लागि जान र डा. शंकर रिजाललाई भेटन सल्लाह दिएँ ।
उनि भोलीपल्टै डाक्टरसँग भेटन औषधालय पुगिन ।
‘सुरुमा मैले सबै समस्या भनिँन । हातको समस्या देखाएपछि डाक्टर सावले मलाई थोरै औषधि दिनुभयो, जो नेपालसरकारबाट निःशुल्क रुपमा वितरण हुने गर्छ ।’ पहिलोप्रेससँग कुरा गर्दै उनले भनिन्, ‘त्यो औषधी सेवन गरेपछि मलाई असाध्यै राहत भयो ।’
उनी त्यसपछि पनि औषधालय पुगिन । डाक्टर रिजालले उनलाई औषधी सेवन गर्न र हातको मालिस गर्न सल्लाह दिएका छन् । हाल उनलाई सहजता महसुस भइरहेको छ ।
कर्णाली प्रदेश सरकारको लगानीमा सञ्चालनमा रहेको अस्पतालले विभिन्न रोगका विरामीलाई उपचार गर्दै आएको तर आफैं विरामी परेको महसुस उपसभामुख न्यौपानेलाई भएको छ ।
‘सबै आवश्यक उपचार सामाग्री छन् । विभिन्न रोगको उपचार गर्न दक्ष स्वास्थ्यकर्मी पनि छन, तर भवन छैन । ठेक्का भएको लामो समय भइसक्दा पनि ६४ कोठे भवन निर्माण हुन नसकेको र ठेकेदारले नै अलपत्र पारेको देखेपछि मन खिन्न भयो ।’ अनुभव साँटदै उपसभामुख भन्छिन, ‘अब यसबारेमा म सरकारसँग कुरा गर्छु । अस्पतालमा दक्ष जनशक्तिका अलावा भौतिक संरचना व्यवस्थापन गर्न सरकारलाई सुझाव दिन्छु ।’
यता, अस्पताल प्रमुख डा. रिजाल सकेसम्म प्राकृतिक रुपमै उपचार गर्ने गरिएको बताए । ‘हामीले यहाँ आउने विरामीलाई निरन्तर योगा गर्नुपर्ने, खानपान रआहार व्यवहार सुधार गर्न सिकाउने तथा विभिन्न थेरापीमार्फत उपचार गर्ने गरेका छौं ।’ उनी भन्छन्, ‘भिआइपीहरुसमेत औषधालयमा आउन थालेपछि हाम्रो उपचार विधि थप विश्वासिलो बन्दै गइरहेको महसुस भएको छ ।’
पहिलोप्रेस
१४ मंसिर २०८०, बिहीबार १०:४७