Loading... आजः ४ पुष २०८१, बिहीबार

सुर्खेतका २१८ जनप्रतिनिधिमध्ये मध्ये ११ जनाले मात्रै गरे सनाखत

नयाँ दलमा देखिएन उत्साह !


सुर्खेत ।
नेकपा एमाले विभाजन भएसँगै प्रादेशि राजधानी समेत रहेको सुखेृतका केहि जनप्रतिनिधि मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आशा गरेअनुसार एमालेबाट जनप्रतिनिधि समाजवादीमा प्रवेश नगरेपछि समाजवादी दलका अगुवा निराश बनेका छन् । सनाखत गर्न एक दिन मात्रै बाँकी रहेको समयमा प्रदेश निर्वाचन आयोगको कार्यालयमा जम्मा ११ जनप्रतिनिधिले मात्रै सनाखत गरेको कार्यालय प्रमुख दुर्गा प्रसाद चालिसेले बताए । उनका अनुसार वीरेन्द्रनगरबाट तीन वडाअध्यक्ष र पाँच सदस्यसहित आठ जना, भेरीगंगा नगरपालिकाका एक जना सदस्य र चौकुने गाउँपालिकाका एक जना वडाअध्यक्षले मात्रै सनाखत गरेको उनको भनाई थियो ।

‘हामीसँग सनाखत गर्न आउनेहरुको संख्या अत्यन्तै न्यून छ । जम्मा एघार जनाले मात्रै सनाखत गरेका छन् ।’ उनले भने, ‘गोपनियता राख्नुपर्ने भएका कारण हामीले ती नामहरु भोली साँझ मात्रै सार्वजनिक गर्छौं ।’
एमालेले स्थानीय तहको निर्वाचनमा ४३ ओटा वडामा विजय प्राप्त गरेको थियो । तीन ओटा स्थानीय तहमा प्रमुख उपप्रमुख जितेको एमाले विभाजन हुँदा यो समाचार तयार पार्दासम्म चार वडा अध्यक्ष र सात सदस्यहरुले मात्रै सनाखत गरेका छन् ।

सुर्खेतमा एमालेले सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका र लेकबेशी नगरपालिकामा विजय हात पारेको थियो । सिम्ताका अध्यक्ष कविन्द्र कुमार केसि, उपाध्यक्ष चन्द्रकला शाही, लेकवेशीका नगरप्रमुख गगनसिंह सुनार, उपप्रमुख शान्ति छन्तेल, चौकुनेका अध्यक्ष धीरबहादुर शाही र उपाध्यक्ष निर्मला राना पनि एमालेमै बसेका छन् । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल पनि एमालेमै बसेकी छिन् ।

नयाँ दलमा वीरेन्द्रनगर नगरपालिकाका तीन ओटा वडाअध्यक्ष प्रवेश गरेका छन् । १६ वडा रहेको वीरेन्द्रनगरमा नौ वडामा एमालेले विजय प्राप्त गरेको थियो । नयाँ दलमा सनाखत गरि सहभागि भएका वडा अध्यक्षहरुमा वडा नं. ८ का थम्म प्रसाद गौतम, वडा नं. १० का रत्न बुढा र वडा नं. १२ का लोकप्रसाद चालिसे रहेको श्रोतले जानकारी दियो । अन्य वडा सदस्यमा वडा नं. दुइ का टोपबहादुर रास्कोटी, नौ का जीवन ढकाल, १० का सुनिता चौधरी, वडा नं. १२ का रामकुमार दर्लामी, १५ कि लक्ष्मी ज्ञवालीले आयोगको कार्यालयमा गइ सनाखत गरेका हुन ।

चौकुने गाउँपालिका वडा नं. एक का वडाअध्यक्ष लक्ष्मण आले मात्रै नयाँ दलमा सहभागि भएका छन् । त्यहि की महिला सदस्य पनि सनाखतमा गएकी छिन् । भेरीगंगा नगरपालिकाका एक वडा सदस्यले नेकपा एसको पक्षमा सनाखत गरेको खुलेपनि कसले गरेका हुन भन्ने कुरा पुष्टि हुन सकेन ।

सुर्खेतमा एमालेका जनप्रतिनिधिको संख्या २१८ भन्दा बढि रहेको एमाले सुर्खेतका नेता कुलमणि देवकोटाले बताए । ‘सत्ता गठबन्धनवालाहरुले योजना दिने दे्खि विभिन्न प्रलोभन देखाएर केहि साथीहरुलाई लिएर जानु भएको हो । तर एमालेलाई जीवन ठान्ने कामरेडहरु एमालेमै रहनु भएको छ । यो एमाले मात्रै नभएर नेकपाकै एक रुप पनि हो ।’ उनी भन्छन्, ‘अहिले सुर्खेतमा एमाले एक ढिक्का छ । केहि साथीहरुलाई छक्याएर उता लिएपनि उहाँहरु एमालेमै ढिलोचाँडो आउनुहुने छ ।’

नेकपा समाजवादीका अध्यक्ष मोहन बडुवालले अपेक्षा गरेअनुसार जनप्रतिनिधिले सनाखत नगरेको बताए । ‘यद्यपी भोली हाम्रो लागि समय बाँकी छ । तलको कार्यकर्ता हाम्रै पक्षमा छन् । केहि जनप्रतिनिधिले मात्रै सनाखत गर्नु भएको छ ।’ उनले भने, ‘पर्सीमात्रै हामी सबैको नाम सार्वजनिक गर्छौं ।’

 


सम्बन्धित समाचार