सभामुख शाहीका पाँच वर्ष : ५ अर्बबढी बजेट निर्वाचन क्षेत्रमा खर्च
सुर्खेत ।
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश सभाको चुनावमा संघ तर्फका उम्मेदवार बनेका छन् । पाँच जना प्रतिस्पर्धी रहेको दैलेख निर्वाचन क्षेत्र नम्बर दुईको ‘ख’ बाट २०७४ सालमा निर्वाचित भएका शाही लोकप्रिय नेताको रुपमा दैलेखमा चिनिन्छन् ।
साविक इलाका नम्बर ११ को तोलीजैसी गाउँ विकास समितिको निर्वाचित अध्यक्षसमेत बनेका शाही माओवादी आन्दोलनको समयमा सर्वस्वहरणमा समेत परेका हुन ।
नेकपा एमाले भित्रको चर्को गुटबन्दीको बारम्बार ‘शिकार’ बन्ने गरेका शाही २०७४ सालको प्रदेश सभाको उम्मेदवार बन्न आन्तरिक चुनावमा सर्वाधिक मत ल्याएर टिकट पाउन सफल भएका थिए ।
उनी पश्चिम दैलेखका इमान्दार, निष्कलंक छवि भएका नेता भएकै कारण उनलाई कार्यकर्ताले रुचाएपनि बारम्बार संघमा टिकट लिएका नेताहरुले भने उनलाई किनारामा पार्ने प्रयास निरन्तर गर्दै आइरहेका छन् ।
उनी प्रदेश सभा सदस्य बनेर निर्वाचित हुँदै गर्दा समेत उनलाई सभामुख बन्न नदिन एमालेभित्रै चरम गुटबन्दी भएको थियो । यद्यपी उनलाई सभामुख बन्नबाट कसैले पनि रोक्न भने सकेन ।
उनको पाँच वर्षे कार्यकालमा सदन प्रमुख प्रतिपक्षीको हुनुपर्ने मान्यता अनुसार उनले निष्पक्ष भूमिका निर्वाह गरेका थिए ।
‘उहाँले असाध्यै क्षमतावान सभामुखको रुपमा पाँच वर्षे कार्यकाल पुरा गर्नु भएको छ ।’ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही समिक्षा गर्छन, ‘लोकतन्त्रको मूल्य र मान्यता अनुसार उहाँले कर्णाली प्रदेश सभा सञ्चालन गर्नु भएको हो । नयाँ संघीय संरचनालाई बलियो बनाउन उहाँको भूमिका महत्वपूर्ण रह्यो ।’
उसो त, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही समेत उनको काम प्रति सन्तुष्ट छन् ।
‘उहाँले सभामुख हुँदा सरकारलाई लगाम लगाउने देखि सदनलाई आपसी मेलमिलापको नीतिमा सञ्चालन गर्नुभयो । उहाँले राजनीतिक दलहरुप्रति कहिल्यै विभेद गर्नु भएन ।’ उनले भने, ‘सभा सञ्चालन गर्ने तरिका उहाँको जस्तो अरुको देख्न पाइएन ।’
२०७४ सालमा प्रदेश सभा उम्मेदवार बन्दै गर्दा उनले जनतासँग हरेकको घरमा विजुली बाल्ने प्रतिबद्धता जनाएका थिए । उनको उक्त प्रतिबद्धता सरकारी निकायको ढिलासुस्तीका कारण उनको पाँच वर्षे कार्यकालमा पुरा भने हुन पाएन । तर अहिले भने टेण्डर प्रक्रिया भइ ठेक्का लागिसकेका कारण दैलेखको ठाँटीकाँध, चामुण्डाविन्द्रासैनी र आठबीसमा विजुलीको प्रसारण लाईन तान्ने कार्य सुरु हुन थालेको छ । अबको एक वर्षमा उनको निर्वाचन क्षेत्रमा विजुली बलिसक्ने उर्जा विकास कार्यालय दैलेखले जनाएको छ । यसकालगि सभामुख शाहीले ४७ करोडको बजेट व्यवस्थापन गरेका छन् ।
विजुली पछि सभामुख शाहीको दोश्रो प्राथमिकता भनेको सडक पूर्वाधार निर्माण नै थियो । रामाघाट ठाँटीकाँध हुदै पिपलकोट सडकको कालोपत्रेको काम सुरु हुन थालेको छ । उक्त आयोजना बहुवर्षिय हो ।
यस्तै, साँगेतडा चामुण्डा सडक पनि कालोपत्रे हुने तयारीमा छ । खिड्कीज्यूला पिपलकोट सडक पनि उनको पहिलो प्राथमिकतामा थियो । उक्त सडक यो वर्ष पिपलकोट वडाकार्यालय पुग्ने देखिएको छ ।
यस्तै, खिड्कीज्यूला राँता हुँदै सिहाँसैन सडक पनि निर्माणधिन चरणमा रहेको छ ।
चिनेखोला रामागाड अछाम सडक पनि निर्माण भइरहेको छ ।
डाँडीमाडी चामुण्डा मटेला ठाँटीकाँध त्रिपन्नी स्याउलेकाँध हुदै राकम कर्णाली सडकको कालोपत्रेको काम सूरु हुने क्रममा रहेको छ । यसकालागि खण्ड खण्डमा टेण्डर भइरहेको छ ।
विजारे धमकोट भुवानथान हुँदै कालिकोट जोडने सडक निर्माणकै क्रममा रहेको छ ।
यसका अलावा उनको निर्वाचन क्षेत्रमा थुप्रै सडक निर्माणका काम सम्पन्न भइसकेका छन् । आगामी एक वर्ष भित्र ती सबै सडक निर्माण सम्पन्न हुने गरि यसपटक उनले पर्याप्त मात्रामा बजेट विनियोजन गरेका छन् ।
शिक्षा क्षेत्रमा एक सय पचास भन्दा बढि विद्यालयका भवन बनेका छन् । लैनचौरको माध्यमिक विद्यालयको भवन बन्न बाँकी रहेको छ । ३७ ओटा माध्यमिक विद्यालय रहेको उनको निर्वाचन क्षेत्रमा आधारभूत विद्यालयका भवनहरु निर्माण, घेराबार लगायतका काम सम्पन्न भएका छन् । स्थानीय तहको दायित्व भएपनि आधारभूत विद्यालयमा प्रदेशबाट प्रयाप्त बजेट गएको छ । चामुण्डा तथा आठबीसमा रहेका क्याम्पसमा प्रशासनिक भवन तथा घेरवार गर्ने कार्यसमेत सम्पन्न भएका छन् ।
खानेपानीमा मझुवा खानेपानी, तुसारपानी सिंगौडी वृहत खानेपानी आयोजना, पाँचाला लिफ्टिगं खानेपानी योजना, डौंसुर लिफ्टिगं खानेपानी योजना, जाक्सी लिफ्टिगं खानेपानी योजना निर्माण भइसकेका छन् ।
यस्तै छेपाडी तिलेपाटा बृहत खानेपानी आयोजना निर्माणकै क्रममा रहेको छ । यो आयोजनाबाट आठबीस नगरपालिकाको वडा नं. ७, ८ र नौ नम्बरका वासिन्दालाई खानेपानी उपलब्ध हुनेछ । यस्ता धेरै खानेपानी आयोजना निर्माण सम्पन्न भइसकेका छन् ।
यस्तै, राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने पहल गरेका सभामुख शाहीले ठाँटीकाँध स्वास्थ्य चौकीको भवन, पर्खाल निर्माण सम्पन्न भएको छ । राकम कर्णाली चौकीमा समेत पर्याप्त मात्रामा बजेट विनियोजन भएको छ ।
कृषि क्षेत्रमा पनि पर्याप्त मात्रामा बजेट विनियोजन भएको छ । एक सय भन्दा बढि सिर्चाइ पोखरी निर्माण भएका छन् भने उनको कार्यकालमा सोही परिणाममा सिंचाई कुलो समेत निर्माण भइरहेका छन् । सिंचाई आयोजना निर्माण सम्पन्न भएसँगै यस क्षेत्रको कृषि उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालय दैलेखको भनाई छ ।
यस्तै, उनको कार्यकालमा सय भन्दा बढि स्थानमा तटबन्धन गरिएको छ । पादुका करिडोर तटबन्धन निर्माण, राकम जाक्सी शाही तटबन्धन आयोजना क्रमागतमा रहेको छ ।
यस्तै विभिन्न कृषि सम्वन्धी आयोजना निर्माण पुरा भइसकेका छन् ।
जनाधारमा सबैभन्दा बलिया शाही
पाँच वर्षे अवधीमा सभामुख शाही दैलेखको निर्वाचन क्षेत्र नम्बर दुईमा विकासवादी नेताको रुपमा स्थापित भइसकेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका हरेक दलका कार्यकर्तासँग बनाएको न्यानो सम्वन्धले उनको उचाई समेत बढेको छ । उनी गठबन्धन भएपनि गठबन्धनका विरुद्ध सबैभन्दा बढि मत ल्याउन सक्ने नेताका रुपमा दैलेखमा स्थापित भइसकेका छन् । उनको तुलनामा अन्य कोही व्यक्तिले टिकट पाएको खण्डमा एमालेलाई जिताउन मुस्किल हुनेृ एमालेकै कार्यककर्ताहरु बताउँछन् ।
विष्णु रिजालको स्थानीय नागरिकसम्म पहुँच विस्तार हुन सकेको छैन भने राजबहादुर बुढा दुइ पटक प्रतिनिधि सभा सदस्य बनिसकेका छन् । उनलाई खासै काम गर्न नसकेको भन्दै कार्यकर्ता नै उनीप्रति रुष्ट देखिन्छन् ।
यस्तै, लक्ष्मी प्रसाद पोखरेल चरम गुटबन्दी गर्ने नेताको रुपमा स्थापित भएका छन् भने आफ्नै क्षेत्रमा समेत उनी दिन प्रतिदिन अलोकप्रिय बन्दै गइरहेका छन् ।
अर्का आकांक्षी विनोद कुमार शाहलाई परिवारवादको राजनीति गर्ने गरेको कारण स्थानीय तहको निर्वाचनमा दैलेखमा एमाले पराजित भएको आरोप लाग्ने गरेको छ । उनले टिकट वितरणमा आफूखुशी निर्णय गरेका कारण पार्टीले हार व्यहोर्नुपरेको आंकलन कार्यकर्ताले गर्ने गरेका छन् ।
पहिलोप्रेस
५ आश्विन २०७९, बुधबार ०९:२३