देवकुमार भन्दा कमल रेग्मी बलिया ? हेर्नुहोस हिसाब…
सम्पादकीय नोटः पहिलोप्रेसले चुनावमा दाबी गरेका नेताहरुसँग कुरा गर्दै संक्षिप्त रुपमा सामाग्री पस्किदै आएको छ । यसलाई पनि सोही अर्थमा लिनुहुन अनुरोध छ ।
सुर्खेत ।
चुनावको मिति नजिकिदैं जाँदा कसले टिकट फुत्काउला भन्ने कौतुहलता नागरिकमा बढदै गइरहेको छ ।
सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुइ (क) मा नेकपा एमालेले प्रदेश इन्चार्ज एवम प्रदेश सभा सदस्य यामलाल कंडेललाइ सर्वसम्मत रुपमा प्रदेश सभा उम्मेदवार चयन गरेपछि सत्तारुढ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसले उम्मेदवार छान्न सकिरहेको छैन ।
यद्यपी आधा दर्जन भन्दा बढिको नाम सिफारिस गरिसकेको सुर्खेत काँग्रेसले यामलाललाई पराजित गर्ने अनुहारको भने खोजी गर्दै आइरहेको छ ।
देवकुमार सुवेदी जिल्ला कार्यसमितिका सचिव हुन । उनी निवर्तमान नगरप्रमुख पनि हुन । महाधिवेशन अघि शेखर कोइराला समूहमा रहेका सुवेदी अहिले भने संस्थापन समूहमा खुलेर लागेका छन् ।
अर्का प्रतिस्पर्धी कमलराज रेग्मी पनि हुन । उनी निवर्तमान पार्टी जिल्ला सभापति हुन ।
उनी संस्थापन इतर समूहमा छन् । आफू सभापति हुँदा जिल्ला समन्वय समितिमा एकलौटी जीत हात पार्न सफल भएका नेता रेग्मी २०७४ सालको निर्वाचनमा यहि प्रदेश सभा सिटबाट चुनाव लडेका थिए । तत्कालिन समयमा एमाले र माओवादी केन्द्रको गठबन्धन भएका कारण आठ हजार मतान्तर भएपनि झण्डै पाँच हजार मतले रेग्मी पराजित भएका थिए ।
गएको स्थानीय तहमा यी दुवै जना ‘टेस्टेड’ भइसकेका हुन । सुवेदी नगरप्रमुख हुँदा १६ वडाबाट १४ हजार ४०५ मत मात्रै ल्याएका थिए भने रेग्मीले प्रदेश सभा क्षेत्रका १४ वडाबाट मात्रै १५ हजार ९४७ मत ल्याएका थिए । यसरी हेर्दा मतका आधारमा रेग्मी लोकप्रिय पनि छन् ।
‘उहाँ बाहेक अरुले यामलाललाई पराजित गर्न सक्दैनन् । अहिले सुर्खेत काँग्रेस एक ढिक्का हुने क्रममा छन् ।’ नेपाली काँग्रेसका संस्थापन इतरका एक नेता भन्छन्, ‘उहाँले २०७४ सालमा पार्टीलाई दिलाएको सफलताले पनि यो कुरा पुष्टि गर्छ ।’
उसो त, रेग्मी पुराना नेता मध्ये पर्छन । सरल स्वभाव, सबैसँग सहजै घुलमिल हुन सक्ने र समस्यामा परेका नागरिकलाई सहयोग गर्न सधैं तत्परता देखाउने गुण रेग्मीमा छन् ।
‘यामलाललाई पराजित गर्न रेग्मी उपयुक्त व्यक्ति हुन । सुवेदीलाई सात सय ६ जनाकाे पार्टी सदस्यता खाइदिएको भन्ने आरोप कार्यकर्ताबीच लाग्ने गरेको छ ।’ ती नेताले भने, ‘पछिल्लो समयमा स्थानीय तहको निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै नेता कार्यकर्तालाई पत्र पठाइएकाले काँग्रेस जिल्ला नेतृत्वसँग कार्यकर्ता रुष्ट छन् । यो अवस्थामा पार्टीलाई चुनाव जिताउने हो भने अघिल्लो पटकका घाईते रेग्मीलाई नै टिकट दिन उपयुक्त हुन्छ ।’
उसो त देवकुमार पनि बलिया उम्मेदवार नै हुन । युवामाझ लोकप्रिय सुवेदीलाई नगरप्रमुख हुँदा खासै ‘काम’ गर्न नसकेको आरोप कार्यकर्ता बीच लाग्दै आइरहेको छ । यो अवस्थामा रेग्मी नै उपयुक्त पात्र भएको काँग्रेस वृत्तमा चर्चा चल्न थालेको छ ।
पहिलोप्रेस
३० भाद्र २०७९, बिहीबार ०७:२४